लमही । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले सम्मान गरेको छ । शनिबार लमहीमा एक विशेष समारोहबीच मञ्चले पाँचजना स्रष्टालाई सम्मान गरेको हो । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी.शर्मालाई सम्मान गरिएको थियो ।
समारोहमा ‘अग्रज स्रष्टा सम्मान’बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई सम्मान गरिएको थियो भने शेषमणि शर्मा घिमिरे÷कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष केसी (मावि. फल्कापुर)लाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कवितासंग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको थियो । मञ्चको १३औं वार्षिकोत्सवको समारोहको अवसरमा यो कार्यक्रम गरिएको हो ।
मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा.टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा स्रष्टाले आ-आफ्ना रचना वाचन पनि गरेका थिए ।
उक्त अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उद्घाटनसमेत गर्नुभएको थियो । लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको छ । भवन बनाउनका लागि लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले दुई लाख, राप्ती गाउँपालिकाले एक लाख ५० हजार र गढवा गाउँपालिकाले एक लाख २५ हजार रूपैयाँ अनुदान सहयोग गरेको मञ्चका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ २०६३ सालमा स्थापना भएको भए पनि वार्षिकोत्सव आयोजनाको हिसाबले यो १३औं वार्षिकोत्सव हो । कोरोनाको कहरका समयमा वार्षिकोत्सव कार्यक्रम आयोजना हुन सकेको थिएन । पाँच लाख रूपैयाँबराबरको १५ प्रकारका अक्षयकोष स्थापना भएको यस मञ्चका पछिल्लो समयसम्म १७० आजीवन सदस्य छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts