दाङ । दाङ घोराही उपमहानगरपालिका वडा नं ५ निवासी जग्गुलाल चौधरी काष्ठकलामा अब्बल हुनुहुन्छ । चौधरीले थारु जातिका भेषभूषा, कला, संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका आकृति वनाउनुहुन्छ । चौधरी सुरुका दिनमा खेलौनाका लागि माटोबाट मूर्ति बनाउनुहुन्थ्यो । माटोबाट मूर्ति बनाउँदा बनाउँदै उहाँ काठबाट मूर्ति बनाउन लागेको वताउनुहुन्छ ।
उहाँले बनाएका अधिकांश मूर्ति दाङका विभिन्न ठाउँसँगै पोखरा, काठमाडौं लगायतका ठाउँसम्म बिक्री हुने गरेका छन । बृद्ध उमेरमा टेक्नका लागि आवश्यक पर्ने र हेर्दा पनि सुहाउने देखिएकाले काठका लाठी वनाएर बिक्री हुने गरेका छन। कतिपय आपूmले बनाएका थारु जाति, कला, संस्कृति सम्बन्धी मूर्ति घोराही उपमहानगरपालिका–१७ पनौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयमा राखिएको छ । ‘काठका विभिन्न मूर्ति बनाउने गरे पनि मैले व्यावसायिक रूपमा जानु पर्छ भनेर लागिन’, चौधरी भन्नुहुन्छ, ‘जति मूर्ति बनाएर घरमै बसेर फुर्सदको समय निकालेर बनाएँ ।’ मूर्ति बनाएर बिक्री भएको पैसाले आफ्नो खर्च उठ्ने गरेको उहाँले वताउनुभयो ।
‘अहिले जस्तो पहिले मूर्ति बिक्छन भन्ने थाहा पाएको भए धेरै मूर्ति बनाउने थिएँ तर त्यो बेला मूर्तिको महत्व थिएन’, उहाँ भन्नुहुन्छ, ‘अहिले काठमा कुँदिएका वा काठबाट बनाइएका मूर्तिको महत्व बढी छ, राम्रो बिक्री पनि हुने गरेका छन् ।’ चौधरीले फुर्सदको समयमै करिब ६÷७ सय बढी मूर्ति बनाएको बताउनुहुन्छ । त्यसमध्ये कतिपय बिक्री भएको र कतिपय अहिले पनि घरमै रहेको बताउनुहुन्छ । जसमा थारु जाति, कला, संस्कृतिका मूर्तिसँगै भगवान, जनावर, चराचुरुङ्गी, राजालगायतका मूर्तिका र मादल, सारङ्गी पनि बनाउने गरेको बताउनुहुन्छ ।
जनावर तथा चराका तुलनामा थारु जातिले लगाउने लुगा, बाघ, घोडामा गुरुवा चढेका, थारु महिलाले आफ्ना भेषभूषामा सजिएका मूर्ति बिक्री हुने गरेको छ । पहिले घोराही, तुलसीपुर लगायतका बजारबाट व्यापारी आएर मूर्ति किनेर लग्ने गरे पनि पछिल्लो समयमा काठमाडौंबाट पनि आउने गरेको उहाँले वताउनुभयो। त्यसो त उहाँले ‘अर्डर’ अनुसार पनि मूर्ति बनाउने गर्नुहुन्छ छ । ‘कतिपय मानिसले बनाएका मूर्ति लग्छन् भने केहीले मलाई यस्तो मूर्ति बनाइदिनुस् भनेर भन्छन’, उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा अर्डर अनुसार मूर्ति बनाउने गर्छु ।’
पछिल्लो समय जङ्गलबाट काठ ल्याउन नपाइने र उमेर पनि ढल्कँदै जाँदा कमजोर भएर मूर्ति बनाउने काम कम हुँदै गएको बताउनुहुन्छ । ‘सुरुमा जङ्गल जान सकिन्थ्यो, अहिले बुढा भएर मूर्ति बनाउनका लागि जङ्गल जान सक्ने अवस्था पनि छैन’, उनले भने, ‘गाउँघरमै काठ किनेर मूर्ति बनाउने काम गर्दै आएको छु ।’ सानोमा ग्वाला गएको समयमा रहरै रहरमा मूर्ति बनाउन थालेका चौधरीले थपे, ‘सानोमा घरमा खेलाउनका लागि आवश्यक हुन्थ्यो र मूर्ति बनाउँथे, त्यो बेला पैसामा बिक्दैन थिए, अहिले मूर्ति बिक्री गरेर पैसा कमाउने समय भएको छ तर उमेरले साथ दिँदैन ।’ उमेरले ६५ वर्षमा लागेका जग्गुलाल पाँचदशक बढी समयदेखि मूर्तिकलामा सक्रिय हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts