हराउँदै गोरुले हलो चोत्ने चलन : आधुनिक प्रबिधिको भरमा कृषि

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौँ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो । एक दशक अगाडिसम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे । गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो । तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन् । बजार क्षेत्रमा दशक अगाडिदेखि नै आधुनिक प्रबिधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन । हिजोआज यो सुविधा गाउँ–गाउँसम्म पनि पुगेको छ । आधुनिक प्रबिधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए ।

खास गरि ग्रामीण क्षेत्रका किसानले अंगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ । पहिले पाँच÷सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन् । गाउँ–गाउँमा खेतबारी जोत्ने मेसिन पुगेपछि हल गोरु विस्थापित हुँदै गएका हुन् । बागलुङको ताराखोला, तमानखोला, ढोरपाटन र निसीखोलामा बढी पशुपालन हुने गर्थे । एकै परिवारले १० हलसम्म गोरु पाल्ने गरेकोमा अहिले एक हल पनि पाल्दैनन् । खेतबारीको कामका लागि अर्मपर्म गर्ने चलन पनि अहिले हटेको छ । पछिल्लो समय खनजोतका लागि मिनिटेलर हलो बढी प्रयोगमा आएको छ । गोरुले दुई दिनमा सक्ने काम मिनिटेलरले दुई घण्टामै सकिदिन्छ । यद्यपी कतिपय किसानले गोरु खोजेरै खनजोत गर्ने गर्छन् ।

मिनिटेलर हलो गोरु जति उपयोगी नभएको किसानहरु बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लाग्ने भए पनि उत्पादन राम्रो हुने तर मिनिटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने स्थानीय किसान मीनबहादुर क्षेत्रीले बताउनुभयो । गोरुको जस्तो जोताई मिनिटेलर हलोले नहुँने उहाँको भनाइ छ । पहिले गाउँका हरेक किसानका घरमा न्यूनतम पनि एक हल गोरु हुने गरेको भन्दै अचेल गाउँभरीमा हल गोरु पाउन मुस्किल हुने क्षेत्री बताउनुहुन्छ । आफूले दुई वर्षसम्म मिनिटेलरले जोतेर धान, मकै र गहुँ लगाएको सुनाउँदै पहिलेको तुलनामा झण्डै आधा घटेको बताउनुभयो ।

ADVERTISEMENT

“नयाँ–नयाँ प्रबिधिको विकास हुनु राम्रो हो, तर पुरानो परम्परालाई छोडेर सबै नयाँ अंगाल्नु पनि हुँदैन, गोरु र मिनिटेलरले जोतेको बारी धेरै फरक हुन्छ, मिनिटेलेरले खास्सै माटो उप्काउदैन, गोरुले जोत्दा गहिरो गरि जोतिन्छ” उहाँले भन्नुभयो – “केही समय मैले पनि मिनिटेलरले जोते, अहिले त बाली लगाउन गोरु खोजेरै जोत्ने गरेको छु, तरकारी र फलफुल लगाउन आधुनिक हलो प्रयोग गर्ने गरेको छु, पहिले जस्तो गोरु पनि पाइन छोडे, गोरु खोज्न पनि लेक तिर जानु पर्ने अवस्था आएको छ ।”

बडिगाडका प्रेमबहादुर थापाले गाउँमा काम गर्ने जनशक्ति कम हुँदै गएपछि सयौँ रोपनी खेतीयोग्य जमिन बाँझोमा परिणत हुन थालेको बताउनुभयो । पाँच वर्ष अगाडिसम्म धान मकै फल्ने खेतबारीमा अहिले वनमारा र तितेपातीले ढाकिन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै युवा शक्ति हुने र गोरु पनि हरेक परिवारले पाल्ने गरेको स्मरण गर्दै अचेल गाउँभरी दुई हल गोरु पाउन मुस्किल हुने थापाले बताउनुभयो । अहिले पनि धेरैले खेतबारी खोज्ने गोरुकै प्रयोग गरे पनि पाल्न भने छोडेको उहाँ बताउनुहुन्छ । गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरि रहेको उहाँको भनाइ छ । एक हल गोरुले एक दिन खेतबारी जोते दुई हजारदेखि दुई हजार पाँच सयसम्म लिने गरेको थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो – “गोरु पाल्न धेरैलाई गाह्रो हुने, तर जोत्न भने गोरुनै चाहिने, अचेलका मान्छे धेरै अल्छी हुँदै गए, हाम्रो पालामा गाउँमाथिको जंगलमा गएर साँघ काटेर ल्याएर खुवाउँथ्यौँ, बर्खामा लेक लैजानु पथ्र्यो, अहिले गाउँमा गोरु पालेका किसान थोरै छन्, उनीहरुलाई अहिले भ्याइनभ्याई छ, एक दिन गोरु खोत्न लग्यो भने राम्रै कमाइ हुन्छ, गोरुसँगै जोत्ने हली पनि भयो भने एकै दिनमा पैतीस सय कमाउने गरेका छन् ।”
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै संरक्षणमा जोड दिएको बताउनुभयो । गाउँपालिकाले अब गोरु पाल्ने किसानलाई प्रोहोत्सान स्वरुप अनुदान दिने योजना बनाएको भन्दै किसान परिचय पत्रसमेत बनाउन थालिएको अध्यक्ष अधिकारीको भनाइ छ । अब हरेक किसानलाई परम्परागत र आधुनिक तरीकाबाट खेती गर्न तर्फ आकर्षित गर्ने कार्यक्रमहरु संचालन गर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज