भोजपुर । बिद्युतको पहुँचबाट बञ्चित भोजपुरको हतुवागढी गाउँपालिकाका फलाटे र लालटे क्षेत्रमा बिद्युत सुबिधा पुगेपछि स्थानीयमा उत्साह थपिएको छ । नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले हतुवागढी गाउँपालिका वडा नम्वर एकको फलाटे र दुई लालचे क्षेत्रमा बिद्युतीकरण गरेपछि स्थानीय घरमा बिजुली बाल्न पाएकोमा उत्सायी बनेको प्राधिकरणका प्राबिधिक कर्मचारी काजीमान राईले बताउनु
भयो ।
बिद्युतीकरण भएका वडाहरुमा करिव एक सय घरधुरीमा बिद्युतको पहुँच पुगेको छ भने ३५ घरधुरीमा बिद्युत मिटर समेत जडान भई बिजुली बलेको छ । घरमा बिजुली बाल्न पाएकोमा खुशी हुदै फलाटेका भिम परियारले भन्नुभयो, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाईयो, हामी खुशी छौ ।” परियार मात्र होइन गाउँका अन्य स्थानीयहरु समेत खुशी बन्नु भएको छ ।
भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा बिद्युत सेवा पुगेसँगै सो क्षेत्रका करिव एक सय घरधुरीले बिद्युत सेवा उपयोग गर्न पाउने नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख राम बाबु चौधरीले बताउनुभयो । केन्द्र प्रमु्ख चौधरीले भन्नुभयो, “गाउँपालिका क्षेत्रमा बिद्युतीकरण गर्ने कार्य अन्तर्गत ती दुई वडामा पनि बिद्युतीकरण कार्य गरिएको हो ।” तिहारको मुखमा घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ ।
बर्षौ देखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरुलाई खुशी लागेको रामबहादुर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा बिद्युतीकरण हुनु पनि बिकासको एउटा फडको हो ।”
गाउँमा बिद्युतीकरण भए पछि बाँकी रहेका अन्य घरहरुमा पनि बिद्युत मिटर उपलब्ध गराईने नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जनाएको छ । भोजपुरमा सात गाउँपालिका र दुई वटा गाउँपालिका छन । करिव ८१ प्रतिशत बिद्युतीकरण भोजपुर जिल्लामा भई सकेको छ भने बिद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण बिद्युतीकरणका लागि टेण्डर मार्फत कार्य भई रहेको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले जानएको छ ।
भोजपुरमा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरसधुरीले बिद्युत सेवा उपयोग गरि रहेकाछन् ।






