विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेका मन्त्री राम रानाले शनिबार राजीनामा दिएपनि सोमबार बसेको संसदीय दलको बैठकले तत्कालका लागि समर्थन फिर्ता नलिने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
एमालेले हाल प्रतिपक्षको बेन्चमा बस्ने भएपनि आउँदो दिनमा सरकारको भूमिका कस्तो रहन्छ त्यसले नै एमालेको सरकारमा जाने नजाने निर्णय हुने उहाँले बताउनु भयो ।
बैठकले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, जाजरकोट र रुकुम(पश्चिममा गएको भूकम्पपछि पीडितलाई पारिश्रमिकमा कट्टा हुनेगरी राहत सहयोग गर्ने लगायतका विषयमा छलफल भएको थियो।






