पुरन साह/हिटा
जनकपुरधाम । सशस्त्र प्रहरीले मधेश प्रदेशका सिमावर्ती १४३ वडाका वडा अध्यक्षहरूसँग सीमाका विविध विषयमा छलफल गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवासको आयोजना र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अधिरिक्त महानिरिक्षक बंशीराज दाहालको समेत उपस्थितिमा भएको सीमावासीसँग सशस्त्र प्रहरी अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरूले सीमाका विभिन्न समस्याहरू उठान गरेका हुन् ।
वडा अध्यक्षहरूले दुई देशको सम्बन्ध र खुल्ला सीमामा यसअघि सहज रुपमा हुने गरेको आवागमन र दैनिक उपभोग्य बस्तुको आयातमा भारतिय एसएसबी त कतै सशस्त्र प्रहरी बललेनै अनाहक अवरोध र केरकार गरेर दुःख दिने काम गरिरहेको बताएका थिए । धनुषा मुखियापट्टी मुसरनिया गाँउपालिका–२ का अध्यक्ष नरेशप्रसाद यादवले भारतिय एसएसबीले दुःख दिएको भन्दै आफ्ना जमिनमा पनि आवत जावतका लागि अस्थाई पुल बनाउनसमेत नदिएको गुनासो गर्नुभयो ।
महोतरीको सम्सी गाँउपालिका-७ का वडा अध्यक्ष राकेश यादवले नेपाली भूमीमा रहेको धार्मिक मन्दिरमासमेत विकास निर्माणका काम गर्न नदिएपनि नेपाल सरकार र नेपालका प्रहरी प्रशासनले पनि केहि गर्न नसकेको बताउनुभयो । उहाँले सीमाको नेपाली भूमीमा माटो ग्राभेलको काम गर्नसमेत नदिइएको तर भारतिय भूमीमा कालोपत्रेको कामसमेत भइसकेको बताउनुभयो । उहाँले खुल्ला सीमाको दुरुपयोग गर्दै लागूऔषधको ओसरपसार र दुव्र्सयनी बढ्दै गएको जिकिर गर्नुभयो ।
मठिहानी नगरपालिका-७ का वडा अध्यक्ष जितनारायण माझीले पछिल्लो समय सीमामा व्यापक समस्या देखिएको गुनासो गर्नुभयो । विवाह सहितका काममा भोजभतेरका लागि यसअघि सहज रुपमा खाद्यान्न सरसमान ल्याउन पाइनेमा अहिले अनावश्यक केरकार र अवरोध हुने गरेको उहाँको तर्क छ । सप्तरीदेखि पर्सासम्मका वडा अध्यक्षहरूको समस्या सुन्दा उस्तै थियो ।
केही वडा अध्यक्षहरू भने खुल्ला सीमाको फाइदा उठाउँदै देशका युवाहरू लागूऔषध दुर्वसयनीमा फसेर सीमावर्ती क्षेत्रमा विकृती मौलाएको, भारतिय व्यक्ति र साधन प्रयोग भई नेपालमा पनि चोरी, डकैती र अपराधका विभिन्न घटनाहरू मौलाउन थालेको भन्दै सीमालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । यद्यपि वडा अध्यक्षहरूले दुई देशबीचमा रहेको पौराणिक, धार्मिक र पारिवारिक सम्बन्धलाई भने कुनै असर पर्न नहुने गरि सीमा व्यवस्थित गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रहरी अधिरिक्त महानिरिक्षक बंशीराज दाहाल र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले सीमानाकालाई थप व्यवस्थित बनाउन केन्द्रीय सरकारका प्रतिनिधी सशस्त्र प्रहरी बलले मधेशको सीमानाकाका सबै स्थानीय सरकारका प्रतिनिधी वडा अध्यक्षहरूसँग छलफल गरि सरकारलाई परामर्श सहितको प्रतिवेदन बुझाउने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार नौ हजार ६६१ वर्ग किलोमिटर क्षेत्रफल र ६१ लाख १४ हजार जनसंख्या रहेको मधेशमा ४६१ किलोमिटर लामो सीमा रहेकोमा सशस्त्र प्रहरी बलका स्थाई र अस्थाई गरि कुल १६० ईकाय सुरक्षाका लागि तैनाथ रहेको छ । कुल पाँच हजार पाँच सय सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित रहेको मधेशमा १४३ वटा वडाले सीमानाकाको प्रतिनिधित्व गरिरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts