किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी

रासस
रासस
Read Time = 5 mins

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ बेझाङका कृषक किवी खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

बेझाङमा नमूनाका रुपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताउनुभयो ।

गाउँमा किवी खेतीका लागि सम्भावना राम्रो देखिएपछि अहिले समूह तथा व्यक्तिगत रुपमा नै किवी खेती थालिएको छ । किवी खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन आँधीखोला गाउँपालिका र १ नं वडा कार्यालयले किवीका बिरुवा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

“कोदो रोप्दै आएको जमिन र बाँझो जमिनमा गत वर्ष तीन सय किवीका बिरुवा रोपिएको छ”, उहाँले भन्नुभयो, “किवीका लागि यहाँको हावापानी उपयुक्त हुनाका साथै बाँदरले पनि नष्ट नगर्ने भएकाले पछिल्लो समय किवी खेतीतर्फ आकर्षण बढ्दो छ ।” थोरै थोरै बिरुवा लगाएर थालनी गरेका यहाँका किसानले आगामी वर्ष थप बिरुवा लगाउने गरी तयारी गरेका उहाँले बताउनुभयो ।

“मैले गत वर्ष ५० बिरुवा लगाएको छु, राम्रो भएको छ”, उहाँले भन्नुभयो, “बाँझो रहेको अरू जग्गामा पनि थप बिरुवा लगाउँछु, यहाँ मजस्तै अरू किसानहरुले पनि व्यावसायिक रुपमा किवी खेती गर्ने मनसाय गर्नुभएको छ ।” कोदो रोप्दै आएको जमिनमा तीन वर्षअघि परीक्षणका लागि २० किवीका बिरुवा ल्याएर लगाएको स्थानीय दीपक गुरुङ बताउनुहुन्छ ।

ADVERTISEMENT

तीन वर्षअघि लगाएका बिरुवाबाट हाल उत्पादन राम्रो भएकाले यहाँका स्थानीयहरुले यो खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै गरेको गुरुङले बताउनुभयो । “गाउँमा कोदो रोप्दै गरेको जमिन र बाँझो जमिनमा कस्तो हुँदोरैछ भनेर काभ्रेबाट मगाएर तीन वर्षअघि किवीका बिरुवा लगाएँ”, उहाँले भन्नुभयो, “किवीका लागि हाम्रो ठाउँको हावापानी अनुकूल भयो र राम्रो उत्पादन भयो ।”

किवीसम्बन्धी केही पनि जानकारी नभई लगाएको खेतीबाट उत्पादन राम्रो भएपछि स्थानीय तथा आफ्ना आफन्तहरुलाई कोसेलीस्वरुप दिने गरेको उहाँले बताउनुभयो । गाउँबाट बसाइँ सर्ने दर बढ्दै जाँदा गाउँ रित्तो हुँदै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँबाट ३० घर पोखरा र सात घर काठमाडौँमा बस्दै आएका छन् । पोखरामा बस्दै आउनुभएका गुरुङले गाउँमा रहेको जमिनमा परीक्षणका रुपमा लगाएको किवीबाट उत्पादन राम्रो भएसँगै स्थानीयलाई सिकाइ र अनुभव लिने अवसर मिलेको छ ।

“मैले कस्तो हुँदोरैछ, गाउँको हावापानीमा किवी हुन्छ कि हुँदैन भनेर परीक्षण गर्न लगाएको थिएँ, व्यावसायिक रुपमा गरेको थिएन”, उहाँले भन्नुभयो, “जब फसल राम्रो भयो तब जोस र जाँगर बढेर आयो, अब बिस्तारै गाउँमा नै फर्केर किवी खेतीलाई व्यावसायिक रुपमा लैजान पर्छ कि भन्ने सोचाइमा छु ।”

सैद्धान्तिक ज्ञान भए पनि किवी खेती व्यावसायिक रुपमा गर्नका लागि प्रयोगात्मक ज्ञान भने अझै कमी रहेकाले यसको खोजीमा रहेको उहाँ बताउनुहुन्छ । बेझाङ समुद्र सतहदेखि एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइ रहेकाले यहाँ किवीका लागि आवश्यक पर्ने हावापानी भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *