मलंगवामा कर्फ्यु आदेश कायमै

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको कर्फ्यु आदेश कायमै राखेको छ । मूर्ति सेलाउने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि प्रशासनले बिहीबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो । प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसपछि सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

ADVERTISEMENT

मलंगवा नगरक्षेत्रमा कर्फ्यु आदेश जारी रहेकै अवस्थामा शुक्रबार दिउँसो पनि प्रदर्शन भएपछि प्रहरीले भिड नियन्त्रणका लागि २३ सेल अश्रुग्यास प्रहार गरेको थियो । कर्फ्यु लगाइएको नगरक्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँड्डुल गर्न एवं अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न पाइने छैन । यसअघि कृष्ण अष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबीच भएको झडपपछि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

यस विषयलाई लिएर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले शुक्रबारै मलंगवा क्षेत्रमा लगाइएको मेलाको सम्पूर्ण मूर्तिहरू विसर्जन गर्ने तथा सत्यतथ्य पता लगाई घटनामा आबद्ध सम्पूर्णलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ । यसरी सहमति भए पनि कर्फ्यु आदेश जारी नै रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । शनिबार बिहानको अवस्था हेरेर कर्फ्युको आदेशबारे निर्णय गर्ने घिमिरेले बताउनुभयो । कर्फ्यु आदेशसँगै मलंगवाको अवस्था सामान्यतर्फ उन्मुख बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?