भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले छपाई भएर आएको राष्ट्रिय परिचयपत्र बितरण थालेको
छ । भोजपुर नगरपालिका वडा नम्वर १०, जिमिगाउँका समाजसेवी बलिमान राईलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले मंगलवार परिचय पत्र हस्तान्तरण गर्नुभयो ।
उमेरले ९२ बर्ष पुग्नु भएका राईले परिचय पत्र लिदै प्रमुख जिल्ला अधिकारीप्रति आभार ब्यक्त गर्दे राष्ट्रिय परिचय पाउँदा आफुलाई खुशी महशुस भएको बताउनुभयो । जिल्ला प्रसासन कार्यालय भोजपुरले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराउनु नागरिकहरुको छपाई भएर आएको परिचय पत्र बितरण सुरु गरेको हो । परिचय पत्रका लागि बिवरण दर्ता गराउनु भएका केही नागरिकहरुको परिचय पत्र छपाई भएर आएकाले बितरण थालिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई पहिलो राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरेको छु, बनेर आएको परिचय पत्र अन्य नागरिकहरुलाई पनि अव क्रमिकरुपमा बितरण गरिने छ ।” एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता, लाइसेन्स, फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झट अव हुँदैन, प्रजिअ घिमिरेको भनाई रहेको छ ।
आफ्नो सक्कल नागरिकता सो नभएमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउदा दिइएको कागज अथवा आफ्नो बैयक्तिक विवरण खुल्ने कगजात लिएर परिचय पत्र लिनका लागि जिल्ला प्रशासन कार्यालय आउन सकिने राष्ट्रिय परिचय पत्र पञ्जिकरण शाखाका अपरेटर किरण नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “छपाई भएर आएको परिचय पत्रहरु केही दिन पछि आवश्यक कागजातको आधारमा नागरिकलाई नियमित बितरण गर्न सुरु गरिने छ ।” जिल्ला प्रशासन कार्यालयमा अघिल्लो पटक संकलन भएका २४ हजार १५ जनाको बिवरण मध्ये नौ हजार सात सय ७१ जनाको राष्ट्रिय परिचय पत्र छपाई भएर आएको छ ।
राष्ट्रिय परिचय पत्रका लागि भोजपुरमा अहिलेसम्म ७१ हजार एक सय ९३ जानको बिवरण संकलन भई सकेको छ । हस्त लिखित हस्ताक्षर, १० औँलाको औँठा छाप, आँखाको रेटिना लगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधिकारीकरुपमा संकलन गरी नागरिकलाई एक अर्कासँग मेल नखाने गरी परिचय पत्रको नम्बर प्रदान गरिने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाण पत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा बसाईसराइको प्रमाणपत्र चाहिने छ ।
भोजपुरमा २०७७ साल श्रावण १७ गतेबाट पहिलो पटक राष्ट्रिय परिचय पत्रका लागि बिवरण संकलन कार्य सुरु गरिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts