मुस्ताङमा स्याउ टिप्ने चटारो

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । रसिला स्याउ फल्ने गतिलो ठाउँ हो मुस्ताङ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज (असोज १ गते) देखि स्याउ टिप्ने चटारो सुरु भएको छ ।

मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगाएतका ठाउँका स्याउ बगैंचामा लटरम्मै स्याउ फलेको छ । स्याउको राजधानी समेत भनिने मार्फा र टुकुचेका बगैंचाहरु स्याउले राताम्यै भएका छन् ।

पाँच वटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानहरूले स्याउ टिप्ने र बजार पठाउने तयारी सुरु गरेका हुन् ।
मुस्ताङमा आज असोज १ गतेदेखि स्याउ टिप्न सुरु गरिएको स्थानीय सुशिलबाबु थकालीले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भदौ दोस्रो सातादेखि नै स्याउ टिप्ने गरिएकोमा गुणस्तर कम भएको गुनासो आए पछि यस वर्ष बोटमा नै राम्रासंग पकाएर असोज लागेपछि मात्र टिप्न सुरु गरएको मार्फाका स्याउ किसान दीप लालचनले बताउनुभयो ।

अहिले स्याउ खरिद गर्नका लागि स्थानीय व्यापारीसहित बाहिरी जिल्लाका व्यापारीहरू स्याउ बगैँचामा पुगेका किसानहरूले बताएका छन् । मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीहरूले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन् । धादिङ, काठमाण्डौलगायतका ठाउँबाट व्यापारीहरू स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन् ।

ADVERTISEMENT

मुस्ताङको स्याउ खरिद गर्न छिमेकी जिल्ला म्याग्दीसहित पोखरा, चिवतनलगायत ठाउँबाट पनि व्यापारीहरू पुग्ने गरेका कृषक लालचनले बताउनुभयो । उहाँका अनुसार अहिले स्याउ खरिद गर्न पुगेका व्यापारी र कामदारले स्याउको बगैँचा कुरेर बसिरहेका छन् ।
मुस्ताङमा १२ सयभन्दा बढी हेक्टरमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ भने वार्षिक झन्डै ६ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ ।

मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ । केही समयदेखि उच्च घनत्वको इटालियन जातको स्याउसमेत लगाइएको छ । मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाण्डौ, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र विदेशी बजारमा पुग्ने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज