सुख्खा पहिरोले बेनी-दरबाङ सडक अबरुद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । आइतबार दिउँसो (हिजो)सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण बेनी-दरबाङ सडक खण्ड अबरुद्ध भएको छ ।

पहिरो नरोकिएकोले सवारी साधन र यात्रुहरु सास्ती खेप्न वाध्य भएका छन् । विरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पहिरो पार गरी आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरवाङ सडक खण्ड आइतबार दिउँसोदेखि अवरुद्ध भएको हो ।

बेनी नगरपालिका-४ सिङ्गा तातोपानीको घुमाउने भीरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।सुख्खा पहिरो नरोकिँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

मङ्गला गाउँपालिका-२ सिमलचौर र बेनी नगरपालिका-४ तातोपानीको सिमाना क्षेत्र पर्ने घुमाउने भिरमा गएको पहिरोका कारण पश्चिम म्याग्दी ठप्प हुने गरेको छ ।

उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइ रहने सो सडक खण्डमा आइतबारदेखि पुनः पहिरो खसेको हो ।

सुख्खा पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधनहरु तातोपानी र दरबाङदेखि बेनीतिर जाने सवारी साधनहरु मसारमा रोकिएका छन् । यात्रुहरु घुमाउरोबाटो प्रयोग गरेर पैदल नै आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् ।

ADVERTISEMENT

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी तातोपानीका स्थायी वासिन्दा विरेन्द्रमान शाक्यले बताउनुभयो ।

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकोमा अहिले नयाँ पहिरोबाट वारपार समेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरोबाटो प्रयोग गरेर पैदल नै गन्तव्य तर्फ लाग्नुपर्ने वाध्यता रहेको उहाँको भनाइ छ ।

“वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ,” उहाँले भन्नुभयो “फापरखेतको पहिरो बेनी-दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।”

उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

करिब दुई सय ५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” शाक्यले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज