मौलिकता गुमाउँदा ‘रत्यौली’का जस्ता लाग्न थाले तीजका गीत

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 10 mins

म्याग्दी (दरबाङ) । हिन्दू महिलाहरुको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु पनि भइसकेको छ । तर तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ । तीजमा विकृति मौलाउँदै गएको छ ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरिलै ।

केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन ।

नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उहाँको भनाइ छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै उहाँ भन्नुहुन्छ, “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।”

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँ पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुहुछ । महिला अधिकारकर्मी समेत रहनुभएकी बानियाँ भन्नुहुन्छ “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”

अर्की महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्य पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । “चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामी पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुहुन्छ । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।

फगामी भन्नुहुन्छ, “तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”

ADVERTISEMENT

त्यसैगरी डम्मराकी प्रिया कार्की पनि नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताउनुहुन्छ । तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उहाँको तर्क छ । महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने प्रिया कार्कीको धारणा रहेको छ ।

उहाँ भन्नुहुन्छ, “आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”

तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउनुहुन्छ ज्यामरुककोट बगरफाँटकी शिव घिमिरे ।

उहाँ भन्नुहुन्छ, “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नु हुँदैन ।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उहाँको भनाइ छ ।

‘पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आँटोले ।’

बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् ।

तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।

पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।

आजभोलि तीजका गीतमा हरिदेवी कोइराला, वीमाकुमारी दुरा, देवी घर्तीलगायत लोकप्रिय र संस्कृतिप्रेमी गायिका सुनिदैनन् । न लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतले गाएका सांस्कृतिक गीतहरु नै सुन्न पाइन्छ । अहिले बजार र गाउँघरमा समेत तामसी प्रवृत्तिका गीतहरु बर्गेल्ती सुनिन्छन् । ती गीतमा हुँदैनन् महिलाका बेदना र विरह । मात्र त्यहाँ देखिन्छ, मनोरञ्जन र छाडापना । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठका अनुसार तीजका गीतमा बिरह सुनिदैन, मनोरञ्जन मात्रै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज