स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्कनुभएका उहाँले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गर्नुभएको थियो ।
कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा बङ्गुर छन् । मासिक रु १२ लाख मुनाफा कमाउँदै आउनुभएको उहाँको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ ।
उहाँले व्यावसाय सञ्चालन गरेको चार वर्ष बङ्गुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आउनुभएको थियो । उहाँले पछिल्लो समय बङ्गुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताउनुभयो ।
“व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बङ्गुरका पाठापाठी र मासु पुर्याउनै धौ भयो”, उहाँले दुखेसो पोख्नुभयो, “अहिले हामी महँगीको मारमा परेका छौँ, दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बङ्गुर निर्यातमासमेत समस्या हुँदै आएको छ ।” “व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको छ”, किसान विश्वकर्माले भन्नुभयो, “यस्तै समस्या यथावत रहेमा व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न ।”
“व्यवसाय गरेको करिब चार वर्ष सन्तुष्ट थिएँ, अहिले दानापानीमा भएको मूल्यवृद्धिले व्यवसाय नै छोडौँ कि जस्तो हुन्छ”, उहाँले थप्नुभयो, “भन्दा सजिलो जस्तो पेशा देखिए पनि बङ्गुरलाई दाना पुर्याउन गाह्रो हुने रहेछ ।” विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बङ्गुरलाई दाना पुर्याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गर्नुभयो ।
उहाँले लगानीअनुुसार अन्य पशुपक्षीको तुलनामा बङ्गुरको मासुको मूल्य उचित नभएको दाबी गर्नुभयो । “स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य नौ सय रुपैयाँ हुँदा बङ्गुरको मासुको मूल्य धार्नीको आठ सय रुपैयाँ हुनु किसान मारमा पर्नु हो”, विश्वकर्माले भन्नुभयो, “खसीबोकामा भन्दा बङ्गुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बङ्गुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।”
उहाँले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राख्नुभयो । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
“विदेशमा छ वर्ष बिताएँ, आर्थिक स्थिति तब पनि सुल्झेन”, उहाँले भन्नुभयो, “प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बङ्गुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।”
किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन माउँ र एउटा बङ्गुरको पाठोबाट सङ्ख्या बढाएर २६ बङ्गुर उत्पादन गरेर फार्म दर्ता गर्नुभएको थियो । उहाँले सुरुमा मासु उत्पादनका लागि बङ्गुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताउनुभयो । यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ । उहाँलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आउनुभएको छ । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts