पाठेघरको क्यान्सर रोक्न कर्णालीका किशोरीले लगाए खोप

नन्दराम जैशी
नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । कर्णालीका २ सय १२ किशोरीले पाठेघरको क्यान्सर रोक्न खोप लगाएका छन् । उनीहरुले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएका हुन् ।

खोप अभियान (बुधबार) भदौ २७ देखि संचालन भएको हो । यो अभियान भदौ ३० गतेसम्म चल्नेछ । जसमा कर्णालीका ८ सय जना, १४ वर्षका किशोरीहरुलाई खोप लगाइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सर रोक्न देशका सात वटै प्रदेशमा स्वास्थ्य कार्यालयको समन्वयमा किशोरीहरुलाई खोप लगाउन थालेको हो ।

सुर्खेतमा निर्धारित समयमा खोप लगाउन आवश्यक तयारी पूरा गरी खोप अभियान संचालन भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेल बताउनुहुन्छ ।

उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरबाट कर्णालीमा पनि थुप्रै महिलाहरु पीडित छन् । ह्युम्यान प्यापिलोमा भाइरसको संक्रमणका कारण महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुने गरेको हो । तर सरकारले पहिलो पटक किशोरावस्थाबाटै यो समस्या समाधान गर्न खोप अभियानको शुरुवात गर्न लागेको छ ।

एचपीभी भाइरसबाट पाठेघरको मुखको क्यान्सर फैलिन नदिन अघि नै खोप किशोरीहरुलाई लगाएर संक्रमण फैलिनबाट रोक्न खोप अभियान थालिएको कँडेल बताउनु भयाे ।

पाठेघरको मुखको क्यान्सर रोक्न एच.भि.पि खोप लगाएपछि महिलाहरुमा हुने पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसाबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।

६ महिनाभित्र दोस्रो डोज

ADVERTISEMENT

यो खोप पहिलो लगाएको ६ महिनाभित्र दोस्रो डोज लगाउनुपर्नेछ । खोपको दुवै मात्रा लगाएपछि एच.भि.पि. भाइसर प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा गर्छ । गार्डसिल भनिने एचपीभी खोपले नौ प्रकारका एचपीभीबाट बचाउने जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताउनुभयो ।

खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुश तथा रिंगाटा लाग्ने र ज्वरो आउने समस्या देखिन सक्ने भएकाले चिकित्सकले निगरानी राख्ने गौतम बताउनु हुन्छ ।

‘यी असरहरु सामान्य हुने र केही समयमा आफैँ हराएर जान्छ । तर हामीले खोप लगाएको ३० मिनेटसम्म खोप केन्द्रमै विश्राम पनि गराउँछौं’ गौतमले भन्नुभयो, ‘कसैलाई असरहरु रही राखेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न खोप लगाएकै दिन किशोरीहरुलाई परामर्श पनि दिने व्यवस्था गर्दैछौं ।’

सरकारले सन् २०२४ मा एच.पि.भि. खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीहरुलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ ।

पाठेघर महिलाहरूको एक प्रमुख प्रजनन अंग हो, जुन पेटको तल्लो भागमा हुन्छ । पिसाब थैली यसको ठीक अगाडि र मलद्वार पछाडि हुन्छ । यो नासपाती आकारको हुन्छ । डिम्बाबाहिनी नली तथा मांशपेसी तत्वहरूले दुवैतिरबाट अड्याइ राख्न मद्दत पु-याएको हुन्छ ।

नेपालमा महिलाहरूमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुने गरेको पाइन्छ । खासगरी सानो उमेरमा यौन सम्पर्क तथा भाइरसको संक्रमण यसको प्रमुख कारण मानिएको छ । तर कारण यति मात्र होइन, अरू पनि हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज