कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल-भारत सीमा नजिकै पर्छ । उहाँको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली हात्तीका कारण महावीर खेतको पूरै उब्जाउ कहिल्यै भित्र्याउन पाउनुहुन्न ।
पारी भारततर्फ नङरा जङ्गल छ । उक्त जङ्गलबाट आउने जङ्गली हात्तीको बथानले बर्सेनि बालीनालीमा क्षति पुर्याउने गरेको उहाँको गुनासो छ । “अचेल दिनहुँ १५/२० हात्ती आउँछन्, पाँच कट्ठा खेतको बाली हात्तीको बथानले सखाप पारेको छ”, महावीर भन्नुहुन्छ, “जङ्गल नजिकैको त्यो खेतको बाली कहिल्यै भित्र्याउन पाइएको छैन ।” जोगबूढा नदी पारीको बस्ती शिवनगरवासी वर्षौदेखि जङ्गली हात्तीको समस्या झेल्दै आएका छन् ।
जङ्गली हात्तीबाट बाली जोगाउन रातभर जाग्राम बस्नुपर्छ । आगो बालेर ढ्याङ्ग्रो बजाउँदै हो-हल्ला गरेर हात्ती धपाउने गरेको शिवनगरका खेमबहादुर खत्रीको भनाइ छ । “हात्ती कतिबेला घरभित्र पस्छन् भन्ने डर छ, त्यसैले भगाउन आगो बालेर रातभर जाग्राम बस्छौँ”, उहाँ भन्नुहुन्छ, “बालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल पर्छ ।”
दोधारा चाँदनीमा जङ्गली हात्तीको आक्रमणबाट अहिलेसम्म चार महिलाले ज्यान गुमाएका छन् । शिवनगरका दुई सय ५० भन्दा बढी परिवारको बसोबास छ । विसं २०२२ देखि बसोबास सुरु भएको शिवनगरवासीलाई जङ्गली हात्तीको त्रास छ । “सरकारले हाम्रो पीडा कहिल्यै सुनेन, चुनावमा आश्वासन दिन्छन् तर जितेपछि फर्केर हेर्दैनन्”, चन्द्रकला मगर गुनासो गर्नुुहुन्छ, “हात्ती रोकथामका लागि सरकारले केही गर्न सकेको छैन ।”
हरेक वर्ष घरखेतमा नोक्सान गर्ने हात्तीबाट बाली जोगाउनै मुस्किल पर्ने गरेको उहाँ बताउनुहुन्छ । “धान र मकै सखाप पारिसक्यो, एक/दुई कट्ठाको धान बाँकी छ”, चन्द्रकला भन्नुहुन्छ, “यो पनि जोगाउन मुस्किल छ ।”
बर्सेनि हात्तीले क्षति पुर्याएर बाली भित्र्याउन नपाउँदा खानलाई अन्नपातको समेत समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । हात्तीकै कारण खेत बाँझो हुन थालेको छ ।“बर्सेनि हात्तीले बालीमा क्षति पुर्याउँछ, खेती गर्दाको लगानी पनि उठदैन, अन्न किनेर खानुपर्छ”, स्थानीय वीरभान सुनार भन्नुहुन्छ, “हात्तीकै कारण खेत बाँझो छोड्नु परेको छ ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts