काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाए छ । कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान अस्मरणीय छ ।
उहाँले राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेकै कारण संविधान जारी भएको थियो । एमाले संसदीय दलका उपनेता समेत रहुनुभएको नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ ।
विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मनुभएका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा ९एमाले०को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाल्नुभयो ।
इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उहाँले सँगसँगै अघि बढाउनुभएको थियो ।
उहाँको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै हुनुहुन्थ्यो । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउनुहुन्थ्यो ।
विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल हुनुभयो ।
पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आउनुभएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिनुभएको थियो । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्नुहुने नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज हुनुहुन्थ्यो ।
सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज हुनुहुन्थ्यो । उहाँका पिता स्व रामबहादुर न्यायाधीश हुुनुहुन्थ्यो भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुनुहुन्छ । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आउनुभएन । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उहाँले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउनुहुन्छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उहाँको योगदान स्मरण गर्दै भन्नहुन्छ, “संविधानसभाबाट संविधान जारी गर्न उहाँको ठूलो योगदान छ, जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित हुनुहुन्थ्यो ।”
मुलुकका ऐन र कानुनप्रति धेरै जानकार भएका कारण उहाँले कानुनीरूपमा आउन सक्ने अड्चन र मार्गचित्रबारे सबै नेताहरूले सहजरूपमा स्वीकार गर्ने गरेको घटना नेता कर्णले सुनाउनुभयो । नेता उहाँ भन्नुहुन्छ, “गाली गरे पनि हाँस्ने व्यक्ति, सबै दलका नेतासँग मित्रभाव राख्ने नेम्वाङ उच्चकोटीको राजनीतिज्ञ हुनुहुन्थ्यो ।”
विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो ।
विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो । बृहत शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थपिका-संसदको नेतृत्व पनि नेम्वाङले नै गर्नुभयो । दश वर्षे सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन र संविधान निर्माणमा पुर्याएको योगदानका कारण नेम्वाङलाई संविधानको पिता भन्दापनि अत्योसयुक्ति हुँदैन ।
उहाँ जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बन्नुभयो ।
आज दिउँसो बसेको एमाले सचिवालय बैठकले उहाँको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै एमालेमात्र नभएर देश नै शोकमग्न भएको बताएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले बैठकले नेम्वाङको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।
‘मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो,’ ज्ञवालीले भन्नुभयो, ‘पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ ।’
साथै बैठकले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय गरेको छ ।
पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औपचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
यसअघि मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि छ ।
नेम्वाङको पार्थिव शरीर अहिले ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिको छ । च्यासलमा पुगेर प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूले उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनुभएको छ । अलबिदा सुवास नेम्वाङ !

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा