मलङ्गवामा सर्वपक्षिय सदभाव र्‍याली

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । शुक्रबार साँझदेखि अशान्त रहेको सर्लाही सदरमुकाम मलङ्गवामा आज अपरान्ह सर्वदलिय सद्भाव र्‍याली निकालिएको छ । दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सर्वदलिय सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा, विभिन्न समुदायका अगुवालगायतको उपस्थितिमा धार्मिक तथा सामाजिक सहिष्णुताका लागि मलङ्गवाको मुख्य बजार क्षेत्रमा सर्वपक्षिय सद्भाव र्‍याली निकालिएको हो ।

सर्वदलिय/सर्वपक्षिय बैठकले भदौ २२, २३ र २४ गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदन बमोजिम कानूनी कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले आज प्रेस विज्ञप्ती जारी गरी आ-आफ्नो धार्मिक तथा सामाजिक मान्यताको पालना गर्दा वा गराउँदा अन्य समुदायको मान्यता र हितप्रति उत्तिकै सम्मान गरी सहिष्णुता र सभ्यता कायम गर्न अपिल गर्नुभएको छ ।

ADVERTISEMENT

यसैबीच, सदरमुकाम मलङ्गवामा कर्फ्यु हटाएर आज बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । हिजो बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यु हटाएर आज बिहान ८ बजेदखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा कुनै प्रकारको भेला, जुलुस, बैठक तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मलङ्गवा बजार क्षेत्रको पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल-भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट पेट्रोलपप्पसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । शुक्रबार साँझ श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएको थियो । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा पनि मलङ्गवामा प्रदर्शन भने रोकिएको छैन् । आन्दोलित पक्षले निषेधाज्ञाकै बीच आज पनि मलङ्गवा बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

आज दिउँसो मलङ्गवा नगरपालिका-३, मा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि छ राउण्ड अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तनावका कारण आज पनि मलङ्गवा बजार बन्द रह्यो । फाट्टफुट्ट मोटरसाइकलबाहेक अन्य सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेनन् । दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्ति र आम नागरिकको जनजीवन बन्दका कारण प्रभावित बनेको छ । यस्तै, सदरमुकाम मलंगवामा भएको यसै घटनासँग जोडेर गोडैता बजारमा पनि आज अपरान्ह टायर बालेर प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज