ज्यामरुककोटलाई ऐतिहासिक सम्पदामार्फत पर्यटकीय क्षेत्र बनाइँदै

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटलाई सत्रौँ शताब्दीका ऐतिहासिक सम्पदाहरुमार्फत पर्यटकीय क्षेत्र बनाउन थालिएको छ ।

यहाँका ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको संरक्षण र तिनको व्यवस्थापन गर्दै अहिले यहाँका स्थानीय यो क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्र निर्माणमा जुटेका हुन् ।

आजभन्दा आठ सय वर्षअघि विसं १२४६ मा धर्मराज थापा यहाँका राजा भएपछि नामाकरण गरिएको ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल पर्वत राज्यका राज भएपछि राजनीतिकरुपले र सामरिक महत्वको ठाउँ भनेर चिनिएको हो ।

ज्यामरुककोटका ऐतिहासिक र प्राकृतिक सम्पदाहरु खोज र अनुसन्धानका पारखीको पर्खाइमा रहेका स्थानीय बुद्धिजजिवी एवम् अर्जुन मावि भकुण्डेचौरका व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो ।

“सामरिक रुपले पर्वत राज्यको महत्वपूर्ण गढ मानिएको ज्यामरुककोटका ऐतिहासिक सम्पदाहरु संरक्षण गरि अहिले पर्यटकीय स्थल बनाउन लागेका छौें” ज्यामरुककोट खड्गभवानी कोत गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले भन्नुभयो “ स्थानीय र प्रदेश सरकारले पनि पछिल्लो समय चासो देखाएको छ,ज्यामरुककोटलाई हामीले ऐतिहासिक पर्यटकीय स्थल बनाउने योजनामा छैँ।”

इतिहासकार मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ नामक पुस्तकमा विसं १२४६ मा कालु थापा ताकमका राजा भए । उनीपछि उनका छोराहरु जेठा पुण्कर पुला, माहिला तारापति ताकम र कान्छा धर्मराज ज्यामरुकका राजा भए । उनै धर्मराज नै ज्यामरुकका पहिला राजा थिए भन्ने कुरा मात्र अहिलेसम्म खुल्न आएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

विसं १५४५ मा समाल शाही वंशी डिम्बवम (दिलीप वम) मल्लले ताकम राज्यमाथि विजय प्राप्त गरेपछि राज्य विस्तार गर्ने क्रममा पुला र ढोलठानपछि ज्यामरुककोटलाई जितेपछि ज्यामरुककोट पनि पर्वत राज्यमा गाभिन पुगेको इतिहासमा उल्लेख छ ।

ADVERTISEMENT

राजा मलेवल (उनलाई नलैवम पनि भनिन्थ्यो) ले आफ्ना भाइ भर्तिवमलाई ज्यामरुककोटको शासनभार (सुम्पेका थिए । पछि मलेवम र भर्तिवमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेवमले भाइ भर्तिवमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिवमले ‘दियां पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन’ भनी अड्डी लिएपछि मलेवमले गुप्त षडयन्त्र गरी भर्तिवमलाई पक्रन पठाए ।

भर्तिवम उनका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगे । भर्तिवमलाई दाजु मलेवमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उनलाई मारिएपछि उनको शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती पनि रहेको पाइन्छ ।
विसं १८४३ मा बहादुर शाहले तत्कालीक पर्वत राज्यका राजा कीर्तिवम मल्ललाई जितेपछि ज्यामरुककोट पनि विशाल नेपालमा गाभिन पुग्यो । त्यसपछि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनैतिक एवम् प्रशासनिक कार्य सञ्चालन हुँदै अहिले स्थानीय सरकारको जिम्मामा आएको छ । अहिले ऐतिहासिक ज्यामरुककोटमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् तर इतिहास झल्काउने कुनै पनि संरचना निर्माण हुन भने नसकेको पाइएको छ ।

पाँच सय वर्षको इतिहास रहेको ज्यामरुककोटमा अहिले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण र मौलिकस्वरुप नबिग्रने गरी पुनः निर्माण गर्न लागिएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

ज्यामरुककोटको खड्गभवानी कोतमा राजा भर्तिवम मल्लले प्रयोग गरेका नौ थान खुँडा र तरवार, एउटा ढाल (फोडिएको अवस्थामा) बाहेका अरू हातहतियारहरु पनि रहेका छैनन् भने तत्कालीन राजदरबार (अहिलेको कोत) को सुरक्षाका लागि बनाएको पर्खालमा प्रयोग गरिएका इँटा र ढुङ्गाहरु पनि पहिचान हुन नसकेको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

राजा भर्तिवम मल्लका अङ्गरक्षकहरुले हातहतियार उधाउने बञ्चरेढुङ्गा अहिले अस्तित्वविहीन छ । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकामा स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिएको भए पनि त्यो प्रयास पर्याप्त नभएको पाइएको छ ।

त्यसैगरी, राजा र उनका मान्छेहरु सिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा आफ्नो निरीह अस्तित्व प्रदर्शन गरिरहेको भए पनि त्यो चौतारो मर्मत गर्नेतर्फ कसैको ध्यान जान नसकेको स्थानीय बूढापाकाहरुको भनाइ छ । “नासिएर गएका सम्पदाहरुलाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदाहरुको पनि संरक्षण हुन नसक्नु ज्यादै दुःखद कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज