-राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा सुचारु गरेको छ । नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गरी सेवा वितरण गर्न शुरु गरेको हो । सानो भवनबाट सेवा दिईरहेको नगरपालिकाले ठुलो भवन सञ्चालनमा आएपछि सेवा प्रवाह गर्न सजिलो भएको छ । पुरानो भवनमा धेरै शाखाहरु एउटै कोठामा राखेर सेवा प्रवाह गरिरहेका थिए भने अहिले नयाँ भवनमा सरेपछी विषयगत शाखाहरुलाई सेवा प्रवाह गर्न सजिलो भएको छ ।
पुरानो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही बस्ने ठाँउ पनि थिएन, नयाँ भवनबाट सेवा वितरण गर्न शुरु गरेपछी कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको कार्यकारी अधिकृत बलराम लम्सालले बताउनु भयो । नगरपालिकाको लागी यो भवन मात्र प्रयाप्त नभएको पनि जानकारी दिनुभयो ।
चार तले नवनिर्मित भवनको प्रत्येक तलामा सेवाग्राही प्रतिक्षा कक्षको ब्यवस्था गरिएको छ । सेवाग्राहि आउँदा उभिरहनु पर्दैन प्रतिक्षालय कक्षमा बस्ने ब्यवस्था गरिएको छ । ठुला कोठा भएपछी अन्य शाखाहरुलाई पनि सेवा प्रवाह गर्न सजिलो भएको छ । उक्त भवन प्रयाप्त नभएपछी केहि विषयगत शाखाहरुले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
२०७८ साल असोज महिना देखि शुरु भएको भवन निर्माण कार्य तोकिएकै समयमा निर्माण सम्पन्न भएको थियो । दुइ करोड ५८ लाख ८ हजार ९४८.१९ लागतमा सम्झौता भएको उक्त भवन जगदम्बा काली जे.भी. काठमाण्डौले निर्माण गरेको हो । आयोजना शुरु गर्नु पर्ने मिति २०७८ साल असोज १ गते र सम्पन्न गरिनुपर्ने मिति २०७९ साल माघ ३ गते तोकिएको थियो । निर्माण कम्पनीले करिब तोकेकै मितिमा निर्माण सम्पन्न गरेको थियो ।
नयाँ भवनबाट सेवा प्रवाह गर्न शुरु गरेपछी सेवा प्रवाहमा थप प्रभावकारी हुने र नागरिकले छिटो छरितो रुपमा सेवा लिन सक्ने भएको नगरप्रमुख तेजन खनाल (तेजेन्द्र) ले बताउनुभयो । नयाँ भवनमा प्रविधीको प्रयोग गर्न र कर्मचारीहरु लगायत सेवाग्राहीको विचमा सञ्चार गर्न सजिलो भएको बताएका छन् ।
भदौ १७ गते नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले औपचारिक उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति एवं प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा कोशी प्रदेशका खानेपानी सिँचाई तथा उर्जा मन्त्री प्रदिपकुमार सुनुवारको उपस्थितिमा उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री साउदले प्रशासनिक नीतिगत कुराहरुलाई सुधार गर्दै लैजाने र ओखलढुंगाको थप विकास गर्न पर्यटन प्रबद्र्धनका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रशासनिक भवन अपाँगमैत्री र ज्येष्ठनागरिक मैत्री नभएको स्थानियबासीको गुनासो रहेको छ । चार तले भवनमा लिफ्टको ब्यवस्था नभएपछि अपाङ्गता भएका ब्यक्ति र बृद्ध–बृद्धाहरुलाई सिँढी चढेर माथिल्लो तलामा गएर सेवा लिन समस्या हुने बताएका छन् । भवनमा लिफ्टको स्टिमेट डिजाइन नभएकाले अपाङ्गमैत्री र ज्येष्ठ नागरिकमैत्री भवन निर्माण गर्नबाट चुकिएको कार्यकारी अधिकृत लम्सालले बताउनु भयो ।






