शान्ति सुरक्षा व्यवस्थापनका लागि बागलुङ बजारमा सिसी क्यामेरा जडान

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बजारको सुरक्षालाई ध्यानमा राख्दै बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा सिसी क्यामेरा जडान कार्य अगाडी बढाइएको छ ।

सिसी क्यामेरा नहुँदा अपराधिक घटना न्यूनिकरण गर्न समस्या भएसँगै बजारमा शान्ति, सुरक्षाका लागि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा अत्याधुनिक सिसी क्यामेरा जडान गर्न लागिएको हो ।

बागलुङ बजारमा २०७१ सालमा २९ वटा सिसी क्यामेरा जडान गरिएको थियो । उक्त क्यामेराहरु पछिल्लो समय प्रयोगविहिन भएपछि बजार प्रवेश गर्ने १५ मुख्य नाकामा १ सय २३ वटा अत्याधुनिक नयाँ सिसी क्यामेरा जडान गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले बताउनुभयो । उहाँले क्यामेरा जडानको लागि फाइबर जडान तथा जिल्ला प्रहरी कार्यालयमा अवलोकन डेक्स स्थापना गरिसकिएको बताउनुभयो ।

बागलुङ नगरपालिकाको १५ लाख र बागलुङ उद्योग वाणिज्य संघको ५ लाख गरी २० लाख रुपैयाँ लागतमा फाइबर जडान, १५ अत्याधुनिक सिसी क्यामेरा र कन्ट्रोल कक्षको स्थापना गरिसकिएको छ । आवश्यकता र बजेटका आधारमा क्यामेरा थपेर १ सय २३ पु¥याइने लक्ष्य लिइएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष कंडेलले बताउनुभयो ।

‘बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ र जिल्लाका विभिन्न संघसंस्था तथा बैंकहरुको सहकार्यमा क्यामरा जडान प्रक्रिया अगाडी बढाएको छ,’ कंडेलले भन्नुभयो, ‘पहिलो चरणमा फाइबर, कन्ट्रोल कक्ष सहित १५ वटा अत्याधुनिक सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकता र बजेटका आधारमा क्यामेरा थप गर्दै बजार क्षेत्रभित्र १ सय २३ क्यामेरा पु¥याउने लक्ष्य राखेका छौं ।’

अहिले बागलुङ बजारको प्रवेशद्वार देउरालीचोक, तिरुपतीचोक, लाम्पाटा, ब्यारेकचोक, लोकमार्गको जिरो, देउरालीचोक र तित्याङ पुग्ने झोलुङ्गे पुल लगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

सिसी क्यामेरा जडान पछि विभिन्न किसिमका चोरी, डकैत, तस्करी रोकिने, सवारी दुर्घटनामा कमी आउने, अवाञ्छित क्रियाकलाप रोक्न, शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न सहयोग पुग्ने, सडक सुरक्षा, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सकिने र बजारको शान्ति सुरक्षामा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

ADVERTISEMENT

आवश्यक मर्मत सम्भारको अभावमा विगत चार वर्ष यता सिसी क्यामरा प्रयोगविहीन भएका थिए । प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले गत आर्थिक वर्षमा करिव १२ लाख ३० हजार सहयोग गरेको थियो ।

बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा बागलुङ नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा क्यामेरा जडान गर्ने कार्य अगाडि बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।

बागलुङ बजार प्रवेश गर्ने मुख्य नाका मालढुंगा, कुँडुले, सुलडाँडा, उपल्लाचौरलगायत बजारका १ सय ९६ स्थानमा सिसी क्यामेरा जडान गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोल स्थानान्तण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो ।

सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताउनुभयो ।

बजार क्षेत्रका हरेक चोक र स्थानमा सिसी क्यामरा राख्दा घटना कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटना न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने केसीले भनाइ छ ।

बागलुङ बजारको प्रवेश नाका तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरी डकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज