जात्रैजात्राको सहर तानसेनबाट गाउँ केन्द्रित पुराना संस्कृति

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । पाल्पाको सदरमुुकाम तानसेनमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर गाउँ–गाउँबाट जात्रा हेर्न तानसेन आइपुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्यापेर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै आउने गर्दथे, तर हिजोआज भने पहिले जसो जात्रा निकाल्नै छोडिएको छ । खर्चिलो हुुने हुँदा कही कतैबाट सहयोग नपाएका कारण यहाँ विस्तारै जात्रा निकाल्न छोडिएको हो ।

अर्कोतर्फ सूचना प्रविधिको बढ्दो प्रयोगले समेत रौनकता घट्दै गएको छ । तानसेनमा जनैपूर्णिमाका दिनदेखि लगातार १० दिनसम्म जात्रा निकाल्ने गरिन्छ । भगवती रथ यात्रा, चुइँकीे फिराई, गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, सिद्धि विनायक गणेश जात्रा, सूर्यविनायक गणेश जात्रा, भिमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा, कालभैरव, बटुक भैरव, लक्ष्मी नारायण, हनुमान जात्राका साथै बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसरमा निकाल्ने बुद्ध जात्रा यहाँका विशेष जात्रा हुुन । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई संस्कृति र जात्रैजात्राको सहर भन्ने गरिएको । यहाँका यी जात्राहरु इतिहास, संस्कृति र परम्परा हुन् ।

यस वर्षका जात्रा बुुधबारदेखि सुरु भए पनि त्यति रौनक भने छैन् । यस पटक तानसेनमा गाई जात्रा छिट्टफुट्ट देखिए पनि रोपाइँ जात्रा भने कही कतै देखिएन । जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखिए पनि तानसेनका बजार क्षेत्रमा भने कहींकतै जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे । यसपटक भने जात्रा हेर्न बजार आएका जात्रालु पनि देख्न नपाई घर फर्किनुप¥यो  ।

सहरका जात्रा गाउँ– गाउँमा

ADVERTISEMENT

तानसेन बजारमा हुने परम्परागत जात्रा, महोत्सव कला संस्कृति अहिले गाउँ–गाउँमा देखिन थालेका छन् । गाईजात्रा, रोपाईजात्रा जस्ता ऐतिहासिक परम्परागत जात्रा तानसेन बजारबाट हराउँदै गएपछी गाउँ –गाउँमा भने युवाहरुले त्यसको जर्गेना गर्न थालेका छुुन । पछिल्लो समय सहर बजारको चहल पहल गाउँघर तिर सरेपछी ऐतिहासिक, परम्परागत जात्रा, महोत्सवहरु समेत गाउँ–गाउँमा केन्द्रीत भएका हुन् । विगतका दिनहरुमा विभिन्न किसिमका ऐतिहासिक जात्रा हेर्न तानसेन बजारमा मानिसको जमघट हुँदै आएपनि दुई /चार बर्षयता जात्रा निकाल्न छोेडिएको छ । तानसेन बजारमा जात्रा हराए पनि पाल्पाको रिव्दिकोट गाउँपालिका हार्थाेक बजारमा भने परम्परागत ताहमचा गाइजात्रा निकालिएको छ । हार्थाेक बजारमा ताहमचा, लाखे, ढेढेको स्वरुपमा घर–घर, चोक चोक डुलाएर पुजा आजा गर्दै मानिसहरु बिच रमाइलो गरिएको छ । यस्ता ऐतिहासिक जात्राहरु निकाल्न धेरै खर्च लागे पनि परम्परा धान्न सबै पक्ष जुटेर लागिएको स्थानीय अगुवा चिरञ्जीवी अमात्यले बताउनुभयो । स्थानीय कला संस्कृति स्थानीय सरकारको सहयोग विना आगामी दिनमा सञ्चालन गर्न कठिन हुने ताहमचा गाइजात्रा सञ्चालन समितिका अगुवा अमात्यले बताउनुभयो ।

तानसेनमा रोपाइँजात्रा नभएपछि छिमेकी पालिका बगनासकालीको चिलाङ्दीमा शुक्रबार रोपाइँ जात्रा हेर्ने मानिसहरुको भिडभाड लागेको थियो । तानसेन नगर सरकारले जात्रामा चासो नदेखाएपछी छिमेकी गाउँपालिकाहरुले भने स्थानीयकला संस्कृति जर्गेना गर्न लागि परेका छन् । आफ्नो बाबु बाजेले चलाएको कला संस्कृति जर्गेना गर्दै पहिचान कायम गर्न लागि परेको बगनासकाली रोपाइँ जात्राका संयोजक विनोद परियारले बताउनुभयो ।

तानसेनलाई ऐतिहासिक साँस्कृतिक नगरपालिका भनिए पनि परम्परागत कलासंस्कृति हराउँदै जान थालेका छन् । विगतका समयमा विभिन्न किसिमका जात्राहरु हेर्न तानसेन बजारमा जाने गरे पनि आजकल तानसेनमा हुने जात्राहरु गाउँमै गर्न थालिएको बगनासकालीका स्थानीय यज्ञ प्रसाद श्रेष्ठले बताउनुभयो । काठमाडौंको भाई भनेर चिनिएको तानसेन बजारमा स्थानीय सरकारले चासो नदिदा विगतमा हुने अधिकाश जात्राहरु निकालिन छाडिएको तानसेनका संस्कृतिकर्मी राजेन्द्रगोपाल सिंहले बताउनुभयो । तानसेन नगरपालिकाले भने तानसेनमा हुने जात्राको अवस्था हेरिकन बजेट विनियोजन गरेको बताएको छ । नगर प्रवक्ता यादव सिंह कार्कीले रोपाइँ जात्राको लागि मात्र ४० हजार बजेट विनियोजन गरिएको भए पनि रोपाइँ जात्रा हुन नसकेको दावी गर्नुभयो । तानसेनमा यस बर्ष गतबर्षमा जस्तो गाईजात्रा समेत हुन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज