गल्याङ नगरपालिकाले कालीगण्डकी सभ्यतामाथि चुनौती दिँदैः ५० मिटर नजिकै फोहोर

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले विश्वको एकमात्र शालिग्राम पाइने पवित्र मानिने कालीगण्डकी नदीको ५० मिटर नजिकै फोहोर व्यवस्थापनका नाममा कालीगण्डकी सभ्यतामाथि चुनौती दिएको छ । सो पालिकाले मुक्तिनाथदेखि बग्दै देवघाटमा मिसिने शालिग्रामका लागि प्रसिद्ध कालीगण्डकी नदीको ५० मिटर नजिक डोजर लगाई खनेर फोहोर पुर्ने कामको प्रारम्भ गरेको छ ।

कालीगण्डकीको अत्यन्त नजिक गल्याङ बजारको फोहोर फाल्ने योजनासहित अगाडि बढेको नगरपालिकाले डोजर लगाई पार्क बनाएर फोहोर व्यवस्थापनका नाममा नकुहिने फोहोर ल्याएर फालेर गएपछि स्थानीय आक्रोसित भएका छन् । कालीगण्डकी नदीको ३०० मिटर नजिक फोहोर फाल्न नपाइने व्यवस्थालाई लत्याउँदै पालिकाले गल्याङ वडा नं ३ को छर्तीघाटमा फोहोर फाल्न सुरु गरेको हो ।

यस क्षेत्रमा पेलाकोट, गल्याङ, बल्पुक लगायतका बस्तीहरु छन् । फोहोर व्यवस्थापनका लागि सुरु गरिएको उक्त ठाँउ कालीगण्डकीको किनार बलपुक, गल्याङ, पेलाकोट लगायतका ठाउँका मानिसहरुको दाहसंस्कार गर्ने घाट पनि हो ।

आफ्नो पालापूर्खादेखि दाहासंस्कार गर्ने कालीगण्डकीको किनारमै पालिकाले फोहोरको डम्पिङ साइट बनाएपछि स्थानीय बलपुकबासीहरुले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भदौ १२ गते निवेदन समेत बुझाएका छन् ।

पटक पटक पालिकाले समन्वय गर्ने भनिए तापनि एकलौटी तरिकाबाट काम सुरु गरिएको स्थानीय कमल बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाउ बाजेका पालादेखि दाहासंस्कार गर्ने घाटमा फोहर फाल्दा विभिन्न रोग फैलिने डर हुन्छ ।’

यस सम्बन्धमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेसँग सोध्दा उहाँले निवेदन दर्ता गरेको र सम्बन्धित पालिकालाई कालीगण्डकी किनारमा फोहोर फाल्न लागेको सम्बन्धमा लिखित जानकारी माग गरिएको तर जानकारी प्राप्त भइनसकेको बताउनुभयो ।

ADVERTISEMENT

कालीगण्डकीको फोहोर व्यवस्थापनको गल्याङ नगरपालिका प्रमुख गुरू भट्टराईलाई सम्पर्क गर्दा उहाँ बोल्न चाहनुभएन ।

हाल गल्याङ बजारमा करिब १३ सय घर छन् । उक्त बजारबाट मात्र दैनिक ५ ट्याक्टर फोहोर जम्मा हुन्छ । दुई दिनमा एक पटक उठाइने फोहोर उचित व्यवस्थापनविना कालीगण्डकीको किनारमा फाल्ने पालिकाको योजनाले स्थानीय निकै चिन्तित बनेका छन् ।

यस अघि गल्याङ नगरपालिकाको फोहोर गल्याङ नगरपालिका(११ आँधीखोलाको तिर थर्थरेमा व्यवस्थापन हुँदै आएको थियो । स्थानीयले विरोध गरेपछि कालीगण्डकी नदी किनारमा व्यवस्थापन गर्ने स्थानीय सरकारले तयारी थालेको हो ।

गल्याङ नगरपालिकाको कालीगण्डकी नदीको ५० मिटर नजिकै फोहोर फाल्ने कार्यले चिन्तित बनेका स्थानीय लक्ष्मण अर्यालले भन्नुभयो, ‘यहाँ भएको बगैंचा पनि मासिएको छ । यो पवित्र कालीगण्डकी नदीको ५० मिटरभन्दा पनि कम दूरीमा छ । यो यहाँका थुप्रै बस्तीहरुको दाहासंस्कार गर्ने ठाउँ समेत हो । पालिकाले फोहोर राम्रो तरिकाले व्यवस्थापन नगर्दा वरिपरिको सबै वातवारण समाप्त हुँदै छ ।’ डोजरले खनेर समथर बनाएपछि ट्याक्टर ल्याएर नकुहिने फोहोर प्लाष्टिकहरुसहित ल्याएर पुरेर गएको उहाँले बताउनुभयो ।

त्यस्तै स्थानीय बालकृष्ण बस्यालले पनि काली गण्डकीको सभ्यतामाथि नै आँच आउने गरी फोहर फाल्न नहुने जानकारी दिनुभयो।

यसरी धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको नेपालकै प्रसिद्ध कालीगण्डकीमा फोहर फाल्न थालेपछि स्थानीयवाट चिन्ता व्यक्त भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज