१५ घर, प्रहरीचौकी, पुल र धर्मशाला बगायो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । आइतबार राती मुस्ताङको कागखोलामा आएको बाढीले २२ घर बगाएको छ । घरसहित होटल, प्रहरीचौकी, पक्की पुल, काठेपुल, आश्रम, धर्मशाला, वडा कार्यालय लगायतका संरचना बगाएको छ । हालसम्मको प्रारम्भीक विवरण अनुसार ३१ संरचना पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।

१६ घर उच्च जोखिममा रहेको उहाँको भनाइ छ । बाढीले विद्युतका पोलहरु बगाउँदा यस क्षेत्र अन्धकारमय बनेको छ । स्थानीय व्यवसायीको गाडी बगाएको भए पनि मानवीय क्षतीको नभएको उहाँको भनाई छ । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीयको सक्रियतामा उद्धार कार्य भइरहेको प्रजिअ केसीले बताउनुभयो ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथका वडा अध्यक्ष प्रमेश गुरुङका अनुसार माथिल्लो झोङदेखि आएको बाढीले कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षती पुर्याएको हो ।

उहाँले भन्नुभयो– ‘अहिले सबै जनप्रतिनिधिहरु कागबेनी क्षेत्रमा उद्धार तथा क्षति विवरण संकलनमा लागेका छौं, क्षतिको एकिन तथ्याङ्क निकाल्न समय लाग्ला तर सबै संरचना एवम् भैतिक श्रोतहरु हेर्दा एक अर्ब हाराहारीको क्षती भएको हुन सक्छ तर पनि एकिन भन्न सकिने अवस्था भने छैन ।’

बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमन्थाङ एवम् लो–घेकर दामोदरकुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत वितरण गर्दै आएको निलगिरी उपभोक्ता सहकारीका कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो ।

ADVERTISEMENT

घर बगाएको तथा क्षती पुगेर बस्न नसक्ने अवस्था पुगेका घरका नागरिकलाई छिमेकीहरुकोमा आश्रय लिने व्यवस्था मिलाइएको छ । केही मोटरसाइकल तथा स्कुटर बगाएको र एउटा डोजर बाढीले पुरेर क्षती पुर्याएको केसीको भनाई छ । उपल्लो मुस्ताङ हुँदै चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगतको कागबेनीमा रहेको कागखोलाको पक्की पुलका साथै काठको पुलसमेत बाढीले बगाएको छ ।

जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावासमा रहेको ९० विद्यार्थीलाई सुरक्षित स्थानमा राखिएको विद्यालयका शिक्षक प्रेम गौतमले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलका अनुसार प्रहरी चौकीको मोटर साइकलसहित कागबेनी क्षेत्रका १० वटा सवारी साधनमा क्षती पुगेको भनिएको भए पनि यकिन गर्न बाँकी छ ।

उहाँले भन्नुभयो–‘पशु चौपाया, व्यक्तिका धनमाल तथा भौतिक संरचनाको क्षतिको अहिले नै यकिन गर्न सकिदैन तर क्षति निकै ठूलो भएको छ ।’ कागबेनी प्रहरी चौकीको भवन रहेको हतियार सुरक्षित रहेको भए पनि अन्य सामग्री तथा भवन भने बाढीले पूर्ण क्षति भएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तरगत मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डा खोला, घरपझोङ गाउँपालिकाको मार्फा स्थीत राजखोलामा बाढीले गर्दा सडक अबरुद्ध हुँदा सदरमुकाम जोमसोम यातायात सम्पर्क बिच्छेद भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् राष्ट्रिय अनुसन्धानको टोली पनि घटनास्थल पुगेर उद्धारको कार्य गरीरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?