कैलाली । सोमबारदेखि मंगलबार रातिसम्म परेको अविरल वर्षाले कैलालीमा १ हजार भन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा वडा नम्बर ३, ५, ७ र ८ नम्बर वडाभित्रका दुई सय ४३ घर डुबानमा परेका छन् ।
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले मंगलबारसम्म केहि वडा प्रभावित भए पनि बुधबार बिहानसम्म पुरै नगरपालिकावासी नै प्रभावित भएको बताउनु भयो । प्रभावित भएका परिवारको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम भइरहेको उहाँले बताउनु भयो ।
वर्षासँगै आएको बाढीबाट टीकापुर क्षेत्रको केहि वडा पनि प्रभावित बन्न पुगेका छन् । टीकापुर नगरपालिकाको वडा नम्बर ६ र ७ का एक सय ६१ घरधुरी प्रभावित बन्न पुगेका छन् । त्यस्तै जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ वडा डुबानमा परेको छ ।
सो वडाभित्रका एक सय ८० घरधुरी प्रभावित बनेका छन् । जानकी गाउँपालिकाका वडा नम्बर १, ४ र ७ मा दुई सय ५० घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा वितण्डा नै मचाएको छ ।
कैलारी गाउँपालिकाको ७ नम्बर वडा डुबानमा परेर एक सय ५५ घरधुरी प्रभावित भएका छन भने गोदावरी नगरपालिकाको ४ नम्बर वडाका ७ घरधुरी डुबानमा परेका छन् । त्यस्तै धनगढी उपमहानगरपालिको १५ नम्बर वडाका २६ घरधुरी अविरल वर्षाका कारण प्रभावित बन्न पुगेका छन् । कैलालीका कुल १३ पालिकामध्ये ७ पालिकाका अधिकांश वडाहरुका वस्ती डुबानमा परेका छन् ।

७ पालिकाभित्रका एक हजार १२ घरधुरी वर्षापछि आएको बाढीबाट प्रभावित बन्न पुगेका हुन् । सोमबार र मंगलबार राति मात्र कैलालीको गोदावरीमा बाढीले सो क्षेत्रमा रहेको पुल क्षेत्रको कटान गर्नुका साथै संरचनामा क्षति गरेको छ । त्यहाँ अवस्थित मठ, मन्दिर एवं घरहरुमा बाढी पसेपछि क्षति पुगेको हो । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा जिल्लामा एक हजार बढी घरधुरी प्रभावित भएको बताइएको छ ।
अझै खुलेन भीमदत्त राजमार्ग
कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका–४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।
डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । सडक डिभिजन कार्यालय महेन्दनगरकाका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताउनु भयो ।

भीमदत्त राजमार्गमा अहिले पनि पहिरो हटाउने कार्य जारी छ । करिब १ सय मिटर माथिबाट आएको पहिरोले सडक अवरुद्ध पारेको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सव इन्जिनियर नरेश भट्टले पहिरो हटाउने काम जारी रहेको जानकारी दिनुभयो ।
उहाँले पूर्ण रुपमा सडक सुचारु गर्न अझै केहि दिन लाग्न सक्ने बताउनुभयो । उहाँले आफु अहिले पनि पहिरो प्रभावित क्षेत्रमा रहेको जानकारी दिनुभयो । पहिरोले सडक अबरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट आएका सवारी साधन धनगढी आउन सकेका छैनन् । धनगढीबाट छुटेका सवारी साधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । केहि व्यक्तिहरू हिँडेरै गन्तव्यमा पुगिरहेका छन् भने केहि अझै अलपत्र छन् । सडक अवरुद्ध हुदाँ सवै भन्दा बढी समस्या विरामी तथा जेष्ठ नागरिकलाई भएको छ ।
पहिरोका कारण यहाँका ९ घरमा क्षति पुगेको छ । उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन् । स्थानीय राईटङ्क राई, वीर बहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे ,ईश्वर घिमिरे, दिनेश आले मगरको घर क्षति भएको छ । अहिले पनि झरी परिरहेको हुँदा अझै क्षति हुन सक्ने भन्दै उनीहरु त्रसित छन् ।






