जीवनको उत्तरार्धमा तरकारीले फेरियो हरिलालको जीवन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५१ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र ५ वर्ष भारतमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थाल्यो ।

हरिलालजस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी खुसीको महक प्राप्त गर्न सफल भएका छन् ।

गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी घिमिरे दाजुभाइमात्र होइनन्, जिल्लामा कैयौँ युवाहरु छन् । रहरले होओस् वा बाध्यताले नेपालीहरू पैसा कमाउनका लागि दैनिक सयौँ युवा विदेशी भूमिमा जाने गर्दछन् ।

ADVERTISEMENT

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेका छन् । तर, पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर स्वदेश फर्कनेको पनि लर्को नै छ । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले ९ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ४८ वर्षीय चन्द्रबहादुर घिमिरेले अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् ।

‘शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन’ घिमिरेले भने कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।’ विसं २०६६ सालदेखि व्यावसायिक रुपमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका घिमिरेले आठ रोपनी जग्गामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाएतका छन् । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु ८ लाखभन्दा बढी कमाइ हुने गरेको बताए ।

‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ,’ घिमिरेले भने, ‘उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले मेरा छोराहरुलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।’
अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ । दुई भाइ छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज