म्याग्दी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको लाइफलाइन भनिएको बेनी–दरवाङ सडमा वर्खा लाग्ने वित्तिकै यात्रु र सवारी साधनहरुलाई सधैं सास्ती हुने गरेको छ ।
सामान्य वर्षा हुँदा पनि सडक माथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी दुई सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारी साधनहरु सधैं जोखिममा पर्ने गरेका छन् ।
१२ वर्ष अघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुख्खा पहिरो र वर्षामा बाढी पहिरोका कारण पटक पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । ७६ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्विदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीहरुको गुनासो रहेको छ ।
कालोपत्रे गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुनेगरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन÷चार पटक सडक अवरुद्ध हुन्छ । घन्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नु परेको यात्रुको गुनासो छ ।
सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिरोको जोखिममा परेको छ। । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताउनुभयो । “जीर्ण र पहिरोको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ”, उहाँले भन्नुभयो “सामान्य अवस्था भए बेनीदेखि चार घण्टा लाग्ने सडकमा वर्षामा त दुई दिनसम्म लाग्ने गर्छ ।”
म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिनुभयो । “यात्रु र गाडीको चाप बढेपनि सडकको अवस्था बेहाल छ”, उहाँले भन्नुभयो । २०७४ असारमा चारवटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का लिएका थिए ।
गत शुक्रबारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीहरुलाई समस्या भएको छ । म्याग्दीको वैंसरीदेखि मुस्ताङको लेतेसम्म सात ठाउँमा पहिरो गएकोले यातायातका साधनहरु अवरुद्ध हुने गरेका यातायात व्यवसायीहरुले बताएका छन् ।
यसैगरी बेनी–दरबाङ सडक खण्डको अवस्था पनि अत्यन्त दयनीय छ । सडकको ट्याक खुलेको १८ वर्ष वितिसक्दा पनि पहिरोको समस्या समाधान हुन सकेको छैन । २०६२ सालमा ट्याक खुल्नु अघिको पहिरोको समस्या रहेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको सडक खण्ड अहिले सबैभन्दा बढी जोखिमयुक्त बनेको छ ।
पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको यो सडक खण्डका सवारी चालक विरबहादुर विकले बताउनुभयो ।
ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको दीर्घरोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रेसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठुलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको स्थानीयले बताउँछन् ।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उहाँले भन्नुभयो, “ठुलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।”

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा