बैतडी । बैतडीका किसानहरू जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि चिन्तित बनेका छन् । दिउँसोको समयमा बाँदर र राति दुम्सी र बँदेलले मकैबाली सखाप पार्न थालेपछि यहाँका किसानहरू चिन्तित बनेका हुन् । जिल्लाका अधिकांश किसानहरूले मुख्य खाद्य बालीका रुपमा मकै खेती गर्दै आएका छन् । तर जंगली जनावरहरूले प्रत्येक वर्ष मकैबाली सखाप गर्न थालेपछि उत्पादन समेत घट्दै जान थालेको छ ।
जंगली जनावरहरूलाई मकैबाली सखाप पार्न थालेपछि किसानहरू रातदिन खेतमा जागराम बस्ने गरेका छन् । रातीको समयमा जंगली जनावर बँदेलका बथानहरु नै आएर मकै बाली नष्ट गर्न थालेको पञ्चेश्वर गाउँपालिका–४ का स्थानीय वीरेन्द्र भट्टले बताउनुभयो । ‘रातिको समयमा बँदेलको बथानै आएर मकैबाली आएर सखाप पार्छन् । दिउँसो बाँदरले ।’ उहाँले भन्नुभयो ‘जंगली जनावरबाट बाली नै जोगाउन मुस्किल हुने गरेको छ ।’
जिल्लाका दश ओटै पालिकामा किसानहरूले लगाएको अन्नबालीमा जंगली जनावरले नोक्सानी पु¥याउने गरेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिका वडा नम्बर ५, ६, ८ र १० मा बाँदरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी नष्ट गर्न थालेपछि खेत बाझै छन् ।
दशरथचन्द, पाटन, मेलौली नगरपालिका, सुर्नया, सिगास गाउँपालिकामा बढीजसो बँदेल र बाँदरले बाली सखाप पार्ने गरेको छ । अस्थायी टहरा लगाएर एक जना दिनैभर रेखदेखमा बस्ने गरेका छन्। रातदिन मकैबाली जोगाउन पहरामै बस्नुपर्छ ।’ सिगास गाउँपालिका –९ स्थानीय दान सिंह बोहराले भन्नुभयो, ‘मकैमा घोगा लाग्ने बेला देखी नै जंगली जनावरले नोक्सानी गर्न थालिसके । बाली जोगाउनै मुस्किल भैसक्यो । अब बाली पनि उनीहरूको लागि लगाए जस्तो भैसक्यो ।’
घरनजिकै रहेको खेतमा बाँदर आएर नष्ट गर्न थालेपछि मकै बाली जोगाउन धौधौ हुने गरेको पाटन नगरपालिका १० किसान दलबहादुर बिष्टले जानकारी दिनुभयो । दिउँसोको समयमा बाँदरको समुह खेतमा पसेर मकै नष्ट गर्ने गरेको उहाँले बताउनुभयो । दिनभरी खेतमै जाग्राम बस्नुपर्छ तर पनि बाली जोगाउन सकिएको छैन् । जंगली जनावरले मकैबालीमा क्षति पु-याएको भन्दै आवश्यक क्षतिपुर्तिका लागि डिभिजन वन कार्यालय बैतडीमा निवेदन समेत आउने गरेका छन् ।
गत बर्ष दुम्सी, बँदेल र बाँदर लगायतका जंगली जनावरले मकैबालीमा क्षति पु-याएको र आवश्यक क्षतिपुर्ति दिनुपर्ने भन्दै ७० ओटा निवेदन आएकाे डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । कृषि ज्ञान केन्द्र बैतडीका अनुसार यहाँ १२ हजार दुई हेक्टर क्षेत्रफलमा मकै खेती गरिन्छ ।
गत वर्ष २१ हजार ९८५ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले जानकारी दिनुभयो ।बैतडी मकै उत्पादनका लागि पकेट क्षेत्र भएपनि बालीमा लाग्ने रोग कीरा, जंगली जनावरले क्षति पु-याउँदा उत्पादनमा केही कमी आउने गरेको उहाँले बताउनुभयो ।






