काठमाडौं । चलचत्रि विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा देशभित्र प्रदर्शन भएका चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार एक वर्षमा ५७ वटा स्वदेशी र ७९ वटा विदेशी चलचित्र सिनेमाघरमा आएका थिए ।
स्वदेशी चलचित्रहरूले २७ लाख १६ हजार २१७ थान टिकट बिक्री गरेका थिए । त्यसक्रममा नेपाली चलचित्रले कुल ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार एक रुपैयाँ गर्न सफल भएका छन् ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ । छक्का पञ्जा-४ ले ६ लाख २९ हजार ७५० वटा टिकट बेचेको थियो ।
त्यस्तै दयाहाङ राई र मिरुना मगर अभिनित जारीले १७ करोड १७ लाख नौ हजार ५१८ रुपैयाँ कमाइ गर्न सफल भएको छ । तेस्रोमा प्रदीप खड्का अभिनित प्रेमगीत-३ ले सात करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ कमाउन सफल भएको छ । भारतमासमेत रिलिज भएको यो चलचित्रले नेपालभर २६ लाख ९८ हजार आठवटा टिकट बेच्न सफल भएको थियो ।
गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यी चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री गरेर कुल ग्रस व्यापार ७९ करोड ४३ लाख चार हजार ७४८ गर्न सफल भएका छन् । विकास बोर्डले हाल प्रदर्शनरत दुई नेपाली चलिचत्रहरू बगान र जारीको असार ३१ सम्मको रिपोर्ट यसमा राखेको छ ।
त्यसैगरी दुई विदेशी चलचित्रहरू मिसन इम्पोसिबल-डेड रकिङ पार्ट वान र रेसिडेन्ट एभिलः डेथ आइसल्यान्ड कोगत आर्थिक वर्षको अन्तिम दिन असार ३१ सम्मको रिपोर्ट राखिएको छ ।
नेपाली चलचित्रको भन्दा विदेशी चलचित्रको व्यापार बढी देखिएको छ । नेपाली चलचित्रले कुल ७६ करोड ७२ लाख ५७ हजार एक रुपैयाँ कलेक्सन गर्दा विदेशी चलचित्रले ७९ करोड ४३ लाख चार हजार ७४८ रुपैयाँ ७० पैसा नेपाली बजारबाट लगेका छन् ।
गत वर्ष नेपालमा सबैभन्दा बढी कमाउने विदेशी चलचित्र ‘पठान’ रहेको छ । दोस्रो स्थामा छ हलिउड चलचित्र ‘अवतारः द वे अफ वाटर’ छ । तेस्रो, चौंथो र पाचौं स्थानमा क्रमशः ‘ब्रहृमास्त्र’, ‘दृष्यम २’ र ‘उचाइ’ रहेका छन् ।






