फ्रान्सको राष्ट्रिय दिवस भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने

Read Time = 3 mins

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ । समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भाग लिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुनेछन् ।

बास्टिल डेका अवसरमा पेरिसको च्याम्प्स एलिसेसमा आयोजना हुने फ्लाइपाष्टमा भाग लिन तीनवटा विमान पनि पेरिस आउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राफेल लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्नेछन् । यसअघि एंग्लो-फ्रान्सेली जगुआर लडाकु विमान परेडमा सामेल भएका थिए ।

ADVERTISEMENT

प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औं वार्षिकोत्सवका बेला हुन लागेको हो । भारतले अन्तिम पटक सन् २००९ मा परेडमा भाग लिएको थियो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी हुनुभएको थियो ।
यसैबीच, फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति इम्यानुएल म्याक्रोँको निमन्त्रणालाई प्रधानमन्त्री मोदीले स्वीकार गर्नुभएको छ । भारतका प्रधानमन्त्रीको भ्रमणले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्नेलगायत वर्तमान विश्वका चुनौतीको सामना गर्न साझा प्रयास प्रारम्भ गर्न अवसर जुटाउने विश्वास फ्रान्सले गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमणबाट भारत-फ्रान्स रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवं महत्वाकांक्षी लक्ष्य निर्धारण गरेर द्विदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । रासस÷पिटिआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज