राजकुमार कार्की/हिटा
ओखलढुंगा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाले निस्सा वितरण गर्न सुरु गरेको छ । जिल्लामा भूमिहीन नागरिक पहिचान गरी लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गर्न सुरु गरेको हो । जिल्लाको सुनकोशी गाउँपालिकाबाट सुरु गरिएको निस्सा वितरण अन्य स्थानीय तहमा पनि तत्काल वितरण गरिने राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुंगाका अध्यक्ष पुरुषोत्तम लुईटेलले बताउनुभयो । उहाँका अनुसार ‘मोलुङ गाउँपालिकामा भूमिहीन नागरिक पहिचान भइसकेकाले अब तत्काल वितरण गरिनेछ ।’
सुनकोशी गाउँपालिकाका ६ जनाले सुकुम्बासी पहिचान गरी जग्गा उपलब्ध गराउन निवेदन दिएकोमा एकजनाको भक्तपुरमा श्रीमतीको नाममा जग्गा भएको प्रमाणित भएपछि पाँचजनालाई सुकुम्बासी निस्सा वितरण गरिएको छ । सुनकोशी–४ की बेलमाया राई, सुनकोशी-१ का विनोदकुमार मगर र राजु लुईटेल, सुनकोशी-९ का बलबहादुर मुक्तान तामाङ र सुनकोशी–१० की डेककुमारी धमला घिमिरेलाई निस्सा वितरण गरिएको हो ।
निस्सा प्राप्त गरेका भूमिहीन सुकुम्बासी नागरिकहरूले घडेरी लिने या खेतीयोग्य जमिन लिने उहाँहरूको रोजाइमा जग्गा पाउनेछन् । घडेरीमात्र लिने सुकुम्बासी नागरिकले साढे चार आनादेखि ११ आनासम्म जग्गा पाउनेछन् भने खेतीयोग्य जग्गा लिने नागरिकले ६ रोपनीसम्म खेतीयोग्य जग्गा पाउने राष्ट्रिय भूमि आयोगको कार्यविधिमा उल्लेख गरिएको छ । निस्सा प्राप्त गरेका भूमिहीन नागरिकहरूलाई जग्गा प्राप्त भएसम्म उहाँहरू बसोबास गरेकै वडामा जग्गा वितरण गरिनेछ भने उक्त वडामा जग्गा प्राप्त हुन नसकेमा अन्य ठाउँमा स्थानान्तरण गरी जग्गा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । आफैं बसोबास गरेको वडामा जग्गा उपलब्ध भए सोही वडामा नभए आफ्नो पालिकाभरि जुनसुकै वडामा जग्गा प्राप्त भएको ठाउँमा स्थानान्तरण गरी बसोबासको व्यवस्था मिलाइनेछ । यदि पालिकाभरि पनि जग्गा उपलब्ध हुन नसकेमा जिल्लास्तर, प्रदेशस्तर हुँदै केन्द्रस्तरसम्म स्थानान्तरण गराई जग्गा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । आफ्नै वडामा जग्गा उपलब्ध हुँदाहुँदै अन्य ठाउँमा जान्छु भनेर भूमिहीन नागरिकले रोज्न भने पाउने छैनन् । भूमिहीन नागरिकहरूलाई निःशुल्क जग्गा उपलब्ध गराउने राज्यको नीतिअनुसार सकेसम्म बसोबास गरेकै ठाउँमा जग्गा उपलब्ध गराउनुपर्नेछ । जग्गा प्राप्त नभएमात्र अन्य ठाउँमा स्थानान्तरण गराई निःशुल्क जग्गा उपलब्ध गराउनुपर्नेछ ।
राष्ट्रिय भूमि आयोग केन्द्रीय कार्यालयले मिति २०७९ साल जेठ २५ गतेदेखि असार १ गतेभित्र निवेदन दर्ता गर्न माग गरेको थियो । उक्त मितिमा पर्न आएका निवेदनमाथि छानबिन गरी निस्सा वितरण गर्न सुरु गरिएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो । विवाहित नागरिकका हकमा श्रीमान् वा श्रीमती दुईजनामध्ये एकजनाको नाममा देशको कुनै पनि ठाउँमा जग्गा भएमा भूमिहीन नागरिक नहुने र एकाघरमा भएका आफ्ना अभिभावकको नाममा जग्गा भएमा त्यस्ता नागरिक भूमिहीन नागरिक नहुने व्यवस्था रहेको छ । तर, अंशबण्डा भएका छोराहरूमध्ये साहुलाई ऋण बुझाउन आफ्नो नामको सबै जग्गा बुझाएमा वा बेचबिखन गरेमा त्यस्ता नागरिकलाई पनि भूमिहीन सुकुम्बासी नागरिक भन्न मिल्ने व्यवस्थाको सूचना २०७६ साल माघ २८ गतेको राजपत्रमा प्रकाशित भएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts