कमिशन नदिए विकास बजेट नै आउँदैन : नगरप्रमुख साह

'केन्द्रदेखि तलसम्मका कर्मचारीलाई दिनुपर्ने कमिशनकै कारण विकास निर्माणको काम गुणस्तरहिन र ढिलासुस्ती'

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । केन्द्र सरकार र प्रदेश सरकारले स्थानीय तहलाई पठाउने विकास बजेटमा हाकाहाकी घुस लिने गरेको तथ्य बाहिर आएको छ ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले केन्द्र र प्रदेश सरकारले हाकाहाकी घुस लिने गरेको खुलासा गर्नु भएको हाे ।

राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौं र जिल्ला समन्वय समिति बाराको संयुक्त आयोजनामा कलैया उपमहानगरपालिकाको सभाहलमा आईतवार आयोजित भ्रष्टाचार नियन्त्रण, हाम्रो साझा दायित्व सचेतना अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले केन्द्रदेखि तलसम्म सबै बेईमान रहेको आरोप लगाउनुभयो ।

‘केन्द्र र प्रदेशबाट आउने सशर्त विकास अनुदान लिनकै लागि स्थानीय सरकारले दुई देखी पाँच प्रतिशत अनिवार्य कमिशन दिनै पर्छ,’ उहाँले भन्नुभयो, ‘माल नदिए विकास बजेट नै आउँदैन ।’ आफुहरुले वर्तमान समयमा भोगिरहेको यथार्थलाई उहाँले सार्वजनिक मञ्चबाटै खुलासा गर्नु भएको छ । घुसखोर कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई पनि सूचना दिँदा कुनै कारवाही अगाडी नबढेको उहाँले आरोप लगाउनुभयो ।

भ्रष्टाचारको सूचना पनि बीचमै लिक गरेर कर्मचारीलाई सचेत गराउने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सूचना लिक भएसंगै भ्रष्ट कर्मचारीहरु अनुगमन टोली पुग्नु अगावै सचेत हुन्छन् र अनुगमन टोली रितै हात फर्किन्छन् ।’ नियमनकारी निकायबाटै यसरी नै भ्रष्ट कर्मचारीलाई जोगाउने गरिएको उहाँले दाबी गर्नुभयो ।

सरकारका मन्त्री र उच्च ओहदाका कर्मचारीले विकास बजेटमा परीक्षण गर्न खटिएका कर्मचारी मार्फत कमिशन उठाउँदै आएको तथ्य उहाँले सार्वजनिक गर्नुभयो ।

ADVERTISEMENT

‘महालेखा परिक्षण कार्यालयबाट मलेप गर्न खटिएका कर्मचारीलाई खुश पार्न सुविधा सम्पन्न होटलमा राख्नु पर्छ,’ उहाँले थप्नुभयो, ‘रातिमा महँगो मदिरा र मिठो परिकारको व्यवस्था गर्नुपर्छ ।’ त्यती मात्र होईन ती कर्मचारीको परिवारको लागी भारतीय शहर रक्सौलमा महँगो लुगा कपडासहितका कोसेली किनेर दिनुपर्ने वाध्यता रहेको  उहाँले बताउनुभयो ।

यदी ती कर्मचारीलाई खुशी पारी तोकिएको कमिशन नदिएमा पालिकाको नाममा बेरुजु ठहरिने गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाको हिसाब किताब फर्छ्यौट गराउन र पालिका भित्रको अनियमितता लुकाउन पालिकासहितका सरकारी कार्यालयले मलेप गर्न खटिएका कर्मचारीलाई कमिशन दिने गरेको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख साहले आफु बाहेकका सबै नेता मन्त्री, केन्द्रदेखि तलसम्मका सबै कर्मचारी भ्रष्ट रहेको दाबी गर्नुभयो । साहले स्थानीय सरकारको अनियमितता यसरी नै कमिशन दिएर मेटाउने गरिएको समेत दाबी गर्नुभयाे ।

केन्द्रदेखि तलसम्मका कर्मचारीलाई दिने गरिएको कमिशनकै कारण विकास निर्माणको काम गुणस्तरहिन र ढिलासुस्ती हुने गरेको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरिक्षक होविन्द्र बोगटी, बाराका १६ वटै स्थानीय तहका पालिका प्रमुखलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज