कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम

रासस
रासस
Read Time = 4 mins

कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । ‘यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ’, उहाँले भन्नुभयो, ‘यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।’

उहाँले यसको कुनै उपचार नभएको बताउँदै संक्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताउनुभयो । ‘कञ्चनपुरमा यसको प्रकोप बढेको छ, अहिले यसको परीक्षणका लागि प्रदेश सरकारले निःशुल्क परीक्षण गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘यो सिरियस रोग हो, यसका बिरामी स्वस्थजस्तै देखिन्छ, चेक गराएपछि मात्रै पत्ता लाग्छ ।’

सिकलसेलका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालयले शनिबार बेलौरी नगरपालिकामा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरेको छ ।

ADVERTISEMENT

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सिकेलसेलबाट डगौरा थारू र रानाथारू समुदाय बढी प्रभावित रहेकाले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुआत गरिएको बताउनुभयो । ‘यो शिविर यहाँ १० दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण हुन्छ’, उहाँले भन्नुभयो, ‘सम्बन्धित वडाका लागि तोकिएको स्थानमा गई रगत परीक्षण गर्न आग्रह गर्दछु ।’

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले बिरामी बढेपछि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको बताउनुभयो । ‘अहिले यहाँबाट तीन हजार बिरामीले औषधि सेवन गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘पालिकामा औषधि सेवनका लागि सिफारिस माग्न आउनेहरूको संख्या बढेको छ ।” उहाँले यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालमा निःशुल्क औषधि पाउने बताउनुभयो ।

स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीको टोलीले रगत परीक्षणका लागि नमूना लिने कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज