कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गर्नु भएको छ । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रदेशबासी आन्दोलित भएको भन्दै प्रदेश सभा बैठक बहिष्कार गर्नु भएको हो ।
सभामा बोल्दै विष्टले भन्नुभयो, ‘अहिले मेडिकल कलेज सञ्चालनका लागि प्रदेशबासी आन्दोलित छन्। आज बन्दको घोषणा पनि गरिएको छ । यस्तो समयमा प्रदेश सभा बैठक सञ्चालन हुनु उचित होइन । तसर्थ बैठक स्थगित गरिनुपर्छ। साथै आजको बैठक म बहिष्कार गरेको छु ।’
साथै नेकपा एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे सुदूरपश्चिम प्रदेश सरकारको धारणा मागेको छ ।
प्रदेशसभाको बैठकमा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गर्नु भएको हो । उहाँले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताउनु भयो ।
‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भन्नुभयो, ‘हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ तर अहिलेसम्म केही आएको छैन । सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता