तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

रासस
रासस
Read Time = 3 mins

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ ।

पानी प¥यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरु त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विक भन्नुहुन्छ- ‘त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।’

बाढीबाट विककी २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाउनुभएको थियो । भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बन्नुभएको छ । उहाँ अहिले ढोरपाटन-९ सुप्राङमा बस्नुभएको छ ।

‘पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ’, उहाँले भन्नुभयो । बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताउनुहुन्छ । बाढीले सबै बगाउँदा उहाँसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न संघ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उहाँको भनाइ छ ।

ADVERTISEMENT

विक भन्नुहुन्छ, ‘जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।’

सोही बाढीमा ढोरपाटन-९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाउनुभयो । बाढीले उहाँको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो । घरबारविहीन भएपछि उहाँ लामो समय माइतीको आश्रयमा बस्नुभयो ।

‘अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु’, उहाँले भन्नुभयो । बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा जानुभएको थियो । ‘दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यहीँ गोठमा बस्यौँ’, विकले विगत सुनाउनुभयो-‘त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ ।’

बाढीले ढोरपाटन-६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पुर्याएको थियो । एघार जलविद्युत आयोजनाको विद्युतगृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुंगे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज