मन्त्रालयको काम नीति निर्माण गर्ने हो, ठेक्कापट्टा गर्ने होइन: मन्त्री जोशी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताउनुभएको छ । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होईन ।” आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क शैय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।” कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैय्याको १० प्रतिशत शैय्या छुटाई निःशुल्क उपचार अनिवार्यरुपमा गराउन लागिपरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको बताउँदै उहाँले सरकार हरेक नागरिकका पक्षमा रहने बताउनुभयो । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक भएको भन्दै उहाँले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तान्तरणले हाम्रो धर्म संस्कृति संरक्षण गर्ने भएकाले यसको पक्षमा सरकार हुनेछ ।”

कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्रीप्रसाद तिमिल्सिना, राम जानकी आश्रमका महासचिव रामेश्वर खनाल, सङ्घका अध्यक्ष केदारनाथ तिमिल्सिना र उपाध्यक्ष माधव घिमिरेले ज्येष्ठ नागरिकका समस्याका बारेमा बोल्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज