खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान कात्तिकेका दुईआमा समूहलाई कपास प्रशोधन गर्ने एकवटा मेशिन हस्तान्तरण गरेको छ ।
नगरपालिकाको अनुदानमा दुई वर्ष अघिबाट व्यवसायिक रुपमा कपास खेती गर्दै आएका कात्तिकेका जुनतारा आमा समूह र गोदाबारी आमा समूहलाई मंगलबार मेशिन हस्तान्तरण गरेको हो ।
नगरपालिकाको १४ लाख बजेटमा खरीद गरिएको मेशिन मेयर बिमला राई, उपमेयर रमेशकुमार राउत, महादेवस्थानका वडाध्यक्ष कमल गिरीलेआमा समूहलाई कपास प्रसोधन गर्न सहज र सरल होस भन्ने लक्ष्यले मंगलबार हस्तान्तरण गर्नुभएको छ ।
महादेवस्थानको साविक ६ र ९ वडामा रहेको जुनतारा आमा समूहका ३४ घर परिवार र गोदाबारी आमा समूहका २८ घर परिवारले करीव ८० रोपनी जमिनमा कपास खेतीगर्दै आएका छन् ।
उत्पादित कपासबाट आमा समूहले सिरानी, डस्ना, सिरक, लाखबत्ती र खाडीका कपडा दौरासुरुवाल बुन्दै आए पनि कपासलाई प्रसोधनगर्नै समस्या भएपछि नगरपालिकाले प्रसोधन गर्ने मेशिन हस्तान्तरण गरेको हो ।
मेशिन नहुँदा घण्टौ लगाएर हाते मेशिनबाट कपास प्रसोधन गर्नुपरेको समस्या नगरपालिका समक्ष राखेपछि नगरपालिकाले मेशिन दिएको जुनतारा आमा समूहकी अध्यक्ष अम्बिका राईले बताउनुभयो । राईका अनुसार अब मेशिनबाट कपास छान्न, धागो बनाउन सहज हुनेछ ।
तर, तत्काल मेशिन चलाउन भने चुनौती देखिएको छ ।
मेशिन सञ्चालनका लागि विद्युत व्यवस्थापन र प्राविधिक व्यवस्थापन गर्नुपर्ने देखिएको छ । त्यस विषयमा नगरपालिकाले सोच्नुपर्ने देखिन्छ । मेशिनलाई कात्तिकेमा रहेको जुनतारा आमा समूहको भवनको पहिलो तलामा राखिएको छ ।
हाल कात्तिकेमा उत्पादित कपासबाट जुनसरी राई र उहाँका नातिनी भबिकला राईले व्यवसायिक रुपमा खाडीका कपडा बुन्दै आउनु भएको छ । उहाँहरुले कपासबाट तयार पारेको दौरासुरुवाल प्रतिथान २० हजारमा विक्री हुँदै आएको छ । त्रि-धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष गिरीले बताउनुभयो । स्थानीयले उत्पादन गरेको कपास मन्दिरमा पूजाआजका सामाग्री निर्माणमा खपत हुने उहाँको भनाई छ ।
मेशिनचालू भएपछि आमा समूहको दैनिकी अझ सहज र सरल हुने उपमेयर राउतले बताउनुभयो । मेशिनको प्रयोगसँगै यसले आमा समूहको आर्थिक आयतन बढाउनमा मद्दत गर्ने मेयर राईले बताउनुभयो । यसैविच, मेशिन हस्तान्तरणसँगै कात्तिकेमा रहेको जुनतारा आमा समूहको भवन उद्घाटन गरिएको छ । नगरपालिकाको १३ लाख ८५ हजारमा निर्मित दुईतले पक्की भवनको मेयर राईले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको हो ।
भवनको पहिलो तलामाकपास प्रसोधनगर्ने मेशिन राखिएको र माथिल्लो तलामा आमा समुहको मासिक बैठक, छलफल, घरगाउँमा कार्जेहरुमा प्रयोग गरिने भाडाकुँडा र फर्निचरका सामान राखिने आमा समुहले जनाएको छ । भवन निर्माणका लागि स्थानीय तुलसीकुमार राई र उहाँकी श्रीमती समला राईले २ आना ६ पैसा जग्गादान गर्नुभएकाे छ ।
कपास प्रसोधन गर्ने मेशिन अनलोड गरिदै । तस्विर चिसाङ शेर्पा

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा