शिक्षक-विद्यार्थी यार्सागुम्बा खोज्न गएपछि बझाङका अधिकांश विद्यालय बन्द

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 4 mins

बझाङ । बझाङ जिल्लाको उत्तरी भेगका विध्यालय भोलि देखि एक महिना सम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विध्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न हिमालतिर जाने भएपछि विध्यालय बन्द गरिने भएका हुन्।

उत्तरी भेग साईपाल गाउँपालिकाको काँडा माध्यामिक विद्यालय , धलौन माद्यामिक विद्यालय लगायतका विध्यालय जेठ १ गते भोली देखि बन्द गरिने भएको हो । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विध्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उहाँले भन्नुभयो,‘विध्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।’

बन्द गरिएका विध्यालयका विध्यार्थी वेशी झरेपछि असार १ गते तिर मात्र खुल्ने जानकारी प्राप्त भएको छ । उत्तरी भेगमा पर्ने काँडा गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका र दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका र बुंगल नगरपालिका अन्तर्गत पर्ने अधिकांश विध्यालय यतिखेर विध्यार्थीहरु यार्सा संङ्कलनमा गएपछी बन्द गरे जस्तै भएका छन् । उत्तरी भेगमा अवस्थित दुरदराजका ती विध्यालय वर्षेनी तीन महिना बन्द हुने गरेपनी यो बर्ष भने पालिकाले निर्णय गरेर हिउँदे विदाको सट्टामा १ महिना विदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैशाख १५ गते सम्म विध्यालयमा भर्ना भइ यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विध्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।’

ADVERTISEMENT

आर्थिक अवस्था कमजोर भएका कारण विध्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् । अघिल्ला बर्षहरुमा विध्यार्थीहरू तीन महिना विध्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विध्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् । ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानिया दिपक बोहराले बताउनुभयो ।

यार्सा संकलनबाट साइपालमा ७ लाख बढी राजस्व संकलन

बझाङको साइपाल गाउँपालिकामा यार्सा संकलनकर्ताबाट ७ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ यहि बैशाख १० गतेबाट यार्सा संङ्कलनका लागि बन खुल्ला गरिएको थियो । सोहि दिनदेखि आज सम्म ७ सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा संङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?