धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ दार्खास्थित उइदुङका सुमन छिरिङ तामाङ मृत अवस्थामा भेटिएको छ । तामाङ गंगाजमुना गाउँपालिका वडा नम्बर ३ लचेतको जंगलमा दुबै हात डोरीले बाँधेर रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
जंगलमा माहुरी खोज्न जाँदा गंगाजमुना गाउँपालिकास्थित रिगाउँका एकजनाले झुण्डिएको अवस्थामा देखेर गाउँलेलाई खबर गरेपछि हेर्न जाँदा २५ वर्षिय सुमनको शव कुहिएको अवस्थामा फेला परेको खनियाबास गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रताप बहादुर तामाङले जानकारी दिनुभयो । तामाङ प्राय जसो ट्रेकिङमा भरियाको रुपमा भारी बोक्ने काम गर्दै आएको थिए ।
शवको अवस्था हेर्दा धेरैदिन अगाडि नै मारेर झुण्डाइएको जस्तो छ, ‘शव कुहिएर गलिसकेको अवस्थामा छ, उसले लगाउने कपडा र हुलियाबाट मात्रै सुमनकै शव हो भन्ने पहिचान गरिएको वडा अध्यक्षको भनाई छ । तामाङको शब धादिङ अस्पतालमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र हत्या कि आत्महत्याको विषयमा खुल्नेछ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो ।
स्थानीयहरुका अनुसार मृत भेटिएका सुमन २०७७ मंसिरमा बलात्कार मुद्दामा एक वर्ष जेल सजाय भोगेर २०७८ पुषमा जेलमुक्त भएका थिए ।






