भोजपुर । नेपाल प्रेस युनियन प्रदेश समितिको बैठक पाँच बुँदे धनकुटा घोषणा पत्र जारी गर्दै सकिएको छ । नेपाल प्रेस युनियन प्रदेश कार्य समितिको धनकुटा नगरपालिका-४ मा खुलेको नुनथला होमस्टेमा शनिवार भएको दोस्रो बैठकले बिभिन्न निर्णयसहित घोषणापत्र सार्वजनिक गरेको हो ।
जिल्ला शाखाको अधिवेशन गर्न केन्द्रीय समितिले निर्णय गरिसकेको सन्दर्भमा प्रदेशका १४ वटै जिल्ला शाखामा तोकिएकै मिति भित्र अधिवेशन सम्पन्न गर्ने, धनकुटा जिल्लाको पर्यटन विकासको लागि नुनथला होमस्टे सहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासको लागि सञ्चार माध्यम मार्फत प्रवर्धन गर्ने, तीनै तहको सरकारलाई प्रेस मैत्री ऐन कानून निर्माण गर्न दवाब दिने, स्थानीय सरकारलाई स्थानीय सञ्चार माध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने र आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
युनियनका प्रदेश अध्यक्ष मिन कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले अन्य विभिन्न निर्णय समेत गरेको महासचिव सञ्जिव वाग्लेले जानकारी दिनुभयो । बैठकमा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई, सल्लाहकार लिला बल्लव घिमिरेसहित प्रदेशका पदाधिकारीको उपस्थिती रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता