म्याग्दी । लामो समयपछि म्याग्दीमा सिंचालित भौतिक पूर्वाधार निर्माणका विकास आयोजनाहरु लयमा फर्किन थालेका छन् ।
विगतमा पटक-पटक म्याद थप गरिए पनि निर्माण कम्पनिका प्रतिनिधिहरुको वेवास्ताका कारण अलपत्र परेका म्याग्दीका ठूला विकास योजनाका कामले गतिलिन सुरु भएको छ ।
जनता र जनप्रतिनिधिहरुको निरन्तरको ताकेता, ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी, कालोसूचीमा राख्ने प्रक्रिया सुरु जस्ता दवावमूलक कामहरुले निर्माणको जिम्मा (ठेक्का) लिएका ठेकेदार काममा फर्किएका छन् । संघ र प्रदेश सरकारमार्फत सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका रोकिएको काम सबैतिर सुरू भएको पुर्वाधार कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लाको विकासमा ठूलो महत्व राख्ने योजनामध्ये गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम-कोरोला, पश्चिम म्याग्दी हुदै रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बैकल्पिक बेनी-दरवाङ, दरबाङ-धारापानी सडक, गलेश्वर-भगवती, बेनी-बागलुङ, बेनी अस्पताल, अलपत्र म्याग्दी भित्रका पक्की पुलको काम सुरु भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।
“पटकपटक समय थपिए पनि निर्माण व्यवसायीले योजनालाई पूर्णता नदिएपछि अन्तिम विकल्प खोज्दै थियौं, अहिले सबै काममा फर्किएका छन्, अब रोकिए ठेक्का नै रद्ध र कालोसूची नै अन्तिम विकल्प हो“ पूर्वाधार विकास प्रमुख अधिकारीले भन्नुभयो ।
एक स्थानीयतह एक आधारभूत अस्पताल योजनाअन्तर्गत मंगला र धवलागिरि गाउँपालिकामा निर्माणाधीन भवनलाई समेत समयमै सम्पन्न गर्न प्रकृया अगाडी बढेको छ ।
कार्यालय प्रमुख अधिकारीकाअनुसार एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे गर्ने रघुगंगा गाउँपालिकाको गलेश्वर-पिप्ले-भगवती सडकको अनुमगन सहितको कार्य सुरु भएको छ ।
त्यसैगरी बेनी-दरवाङ सडकअन्तर्गत सिमलचौरदेखि लाम्पाटासम्मको कामले गतिलिएको छ भने लाम्पाटा-दरवाङ खण्डकको काम रोकिएको अवस्थामा ठेकेदारलाई अल्टिमेटमसहित काममा फर्किन पत्रचार गरिएपछि अहिले काम सुरु भएको छ । अव कुनै पनि म्याद सकिएको आयोजनाको म्याद थप नगरिने समेत पूर्वाधार कार्यालयले जनाएको छ ।
जिल्लामा अलपत्र योजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन प्रतिनिधिसभा सदस्य खम्वीर गर्वुजा, प्रदेशसभा सदस्यहरू रेशम जुग्जाली, हरिबहादुर भण्डारी, विमला गौचन, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत स्थानीयतहका जनप्रतिनिधि समेत सक्रिय भएका छन् ।
निर्वाचित संघ र प्रदेशका सांसद तथा जिल्लाका नेताले विकास योजना कार्यान्वयनलाई गति दिन कार्यालय र निर्माण ब्यवसायी बीचको प्रतिबद्धता कार्यान्वयन तथा प्रतिबद्धता पूरा गर्न आनाकानी गर्नेको ठेक्का रद्ध, धरौटी जफतसम्मको पत्र पठाइएपछि ठेकेदार त्रसिएर काममा फर्किए सँगै अहिले अपुरो योजनाले गतिलिएको प्रतिनिधिसभाका सांसद खम्वीर गर्वुजाले बताउनुभयो ।






