पटकपटक म्याद थप हुँदा पनि मध्यपहाडी लोकमार्गमा हुँदैन काम

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे सडकको ट्रयाक खुलेको साढे दुई दशक बिति सक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्रे भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनु परेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर सडक रहेको यस खण्डमा पछिल्लो समय उपल्लाचौर-अक्षते खण्डमा धमाधम काम भएको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरि ठेक्का दिएको थियो ।

दुई वटा खण्ड कालोपत्रेका लागि वि.सं. २०७२ र २०७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्रे भए पनि अझै १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धिशाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते म्याद सकिदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म नकिनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । तल्लो खण्डमा तीव्र गतिमा काम भएको हुँदा स्थानीयमा आशा पलाएको छ ।

बागलुङदेखि खहरेसम्म केही महिना अगाडिनै कालोपत्रे भएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म तीव्र गतिमा काम भई रहेको छ । यस खण्डमा अहिले सडक चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । सडक कालोपत्रे हुन लागेपछि स्थानीय हिलो र धुलोबाट मुक्त हुने बताउँछन् । एक सातासम्म सडकको धुलो घर भित्रै आउने गरेकोमा अहिले कालोपत्रे गर्न थालेपछि कम भएको बागलुङ नगरपालिका-३ खहरेका स्थानीय जंगबहादुर कार्कीले बताउनुभयो ।

कार्की भन्नुहुन्छ- “आधा जीवन भारतीय सैनिकमा बिताएँ, आधा जीवन यही सडकमा पानी हाल्दाहाल्दै गयो, अब दिन दिनै उठेर सडकमा पानी लगाउनु पर्ने छैन, यो सडकले धेरैलाई सुविधा दियो तर सडक छेउछाउका क्षेत्रका मान्छेलाई साह्रै दुःख पनि भोग्नु पर्‍यो, करिब २५ वर्ष यो सडकमा पानी हालेरै बित्यो, पूर्व-पश्चिमबाट दैनिक दर्जनौँ गाडी धुलो उडाउँदै गुड्छन्, पानी नलगाएसम्म घर बाहिर निस्किन सकिदैनथ्यो, अहिले धेरै सजियो भयो, धुलो पनि कम भएको छ ।”

ADVERTISEMENT

तल्लो खण्डमा तीव्र गतिमा काम भएपछि माथिल्लो खण्डका स्थानीयले यहाँको कामलाई तीव्रता दिन माग गरि रहेका छन् । तर निर्माण कम्पनीले धिमा गतिमा काम गरेको छ । यस खण्डको ठेकेदार समय-समयमा सम्पर्कविही हुने गरेको छ । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक पुग्नै लाग्यो । पटक-पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दा अहिलेसम्म सडक कालेपत्रे हुन नसकेको स्थानीय विरबहादुर विकले बताउनुभयो । विकले सडकको धुलो र हिलोले गर्दा स्थानीयहरु बसाइँसराइ गर्न बाध्य भएको बताउनुभयो । सडक छेउका घरहरु हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उहाँको भनाई छ ।

“पहिले सडक आयो, सडयो, सडक आएपछि धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौँसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए, अहिले विहान उठेदेखि राती नसुतुन्जेलसम्म बाटोमा पानी हाल्ने काम गर्नु पर्छ,” उहाँले भन्नुभयो- “ठेकेदारले बेला बेलामा काम गर्ला जस्तो गर्छ, तर झारा टारे जस्तो मात्रै गर्छ, हामीहरु हैरान भयौँ, यहाँको समस्या कसैले बुझेन ।”

लोकमार्गको कुल एक हजार ७७६ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडिनै कालोपत्रे भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो । उक्त खण्डमा अहिले मर्मत सम्भार कार्य हुँदै छ । जिल्ला भर अब बाँकी करिब १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोकमार्गको सबै खण्ड असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले निर्माण कम्पनीले असार मसान्तसम्म काम नसके ठेक्का साम्झौता टोड्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ- “बागलुङ खण्डमा पर्ने धेरै खण्डमा काम सकि सकेको छ, अब धेरै काम बाँकी छैन, असार मसान्तसम्म सबै काम ‘कम्पिलिट’ हुन्छ, यस पटक काम नसकिएपछि जसरी पनि ठेक्का रद्ध हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?