खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मोटरेबल पुल निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गरी कानूनी कारबाही गर्न प्रशासनलाई गुहारेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ-दिक्तेल सडकखण्डमा पर्ने पंखुखोलाको मोटरेबल पुलको काम अलपत्र पार्ने सिरुवा कन्ट्रक्सन प्रालिका प्रोजेक्ट मेनेजर सन्तोष ढुंगानालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालयलाई गुहारेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल निर्माणको काम वर्षौंसम्म अलपत्र पारेकाले पक्राउ गरी कारबाही गर्न शुक्रबार प्रशासनलाई पत्राचार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउनुभयो । २०७३ सालमै बनिसक्नुपर्ने पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका कुनै काम भएको छैन ।
२ करोड २९ लाख ३८ हजार ७३७ रुपैयाँमा पुल बनाउने कार्यालय र निर्माण कम्पनीबिच सम्झौतामा हालसम्म पुलको वित्तीय प्रगती ४० प्रतिशत र भौतिक ४५ प्रतिशत मात्र सकिएको छ ।
सिरुवा कन्ट्रक्सनले २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ असोज ६ गते ठेक्का सम्झौता गरेको थियो । तेश्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप नभएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर दिपेश मुनकर्मीले बताउनुभयो।
रडको ल्याब रिपोर्ट नआई सुरु भएको काम पनि छोडेर हिड्यो ठेकेदार
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ-भोजपुर सडक खण्डमा पर्ने पन्खुखोला पुलको खिया लागेको रडको ल्याब रिपोर्ट नआई सुरु भएको काम पनि छोडेर ठेकेदार हिडेको छ ।
११ फाल्गुणमा पुष्पलाल मध्यपहाडी राष्ट्रिय योजना कार्यालयका इन्जिनियर दिपेश मुनकर्मी, सव ईन्जिनियर विजय प्रसाद शाह, ल्याब टेक्निसियन सोम बहादुर तामाङ, असिस्टेन ईन्जिनियर प्रदिप राई र निर्माण कम्पनी सिरुवा कन्ट्रक्सनका आधिकारीक प्रतिनिधि सुशील विष्टबिच रडको ल्याब रिपोर्ट पछि पेश्ने गरी काम सुरु भएको थियो ।
एबुटमेण्टमा राखिएको डण्डीहरु खिया लागेको कारण डण्डीहरुको आवश्यक परिक्षण गर्न नमुना सडक विभागको केन्द्रीय प्रयोगशालामा १ फाल्गुणमा पठाईसकिएको तर, सोको ल्याब रिपोर्ट हालसम्म नि उपलब्ध नभएको कारण ल्याब रिपोर्ट पछि पेश गरी निर्माण कार्य सुरु गर्ने र ल्याब रिपोर्टमा डण्डी कम गुणस्तरको पाईएमा निर्माण व्यवसायीले ढलान फुटाउने कागज बनाएर काम अघि बढेको थियो ।
२३ पुषबाट पुलको काम सुरु गरेको, १ फाल्गुणमा डण्डीको नमुना गुणस्तर परिक्षणमा प्रयोगशाला पठाईएको तर, ११ फाल्गुणमा कन्ट्रक्सन र कार्यालयबिच सहमति भएको देखिनुले पुलको काममा चरम लापारबाही भएको प्रष्टै थियो । त्यति हुंदाहुँदै पनि सुरु भएको काम महिना दिन अघिबाट छोडेर ठेकेदार भागेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय धुलिखेलले जनाएको छ ।
काम बन्द भएको महिना दिन बित्यो, काम जहाँको त्यही छ । रडको रिपोर्ट पठाईदिन्छु भनेर ठेकेदार सम्पर्क विहीन छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय धुलिखेलका इन्जिनियर मुनकर्मीले भन्नुभयो, व्यवस्तताले रिपोर्ट लिनलाई गुणस्तर विभागसम्म जान पाएका छैनौ । काम गर्नुहोस भनौ भन्दा ठेकेदारले फोन नै उठाउदैन ।
पंखुखोलामा पुल नबन्दा बर्खामा जोखिम मोलेर खोलाबाट गाडी गुडाउनुपर्ने बाध्यता छ भने, पैदल यात्रीले जोखिमपुर्ण फड्के पुल प्रयोग गर्नुपर्ने हुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts