काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार-२०७९’ दायित्व साहित्यिक मासिकका प्रधान सम्पादक रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषद्वारा काठमौंमा आयोजित एक विशेष समारोहमा नगद राशि २५ हजार रुपैयाँसहित उहाँलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।
पुरस्कार प्रदान गर्दै अभिव्यक्ति साहित्यिक द्वैमासिकका संस्थापक तथा संरक्षक नगेन्द्रराज शर्माले आफू सामान्य मानिस भएको भन्दै आफ्नो नाममा स्थापित पुरस्कार समर्पण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । गत वर्ष स्थापित यो पुरस्कार पहिलोपटक रोचक घिमिरेलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा दायित्व साहित्यिक मासिकका प्रधान सम्पादक रामप्रसाद पन्तद्वारा लिखित नियात्राकृति ‘सोनार बांग्ला’ र ‘अभिव्यक्ति’को नयाँ अंक लोकार्पण पनि गरिएको थियो । साहित्यकार तथा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सार्वजनिक नियात्रा कृतिमाथि चर्चा गर्दै कृति पठनीय भएको बताउनुभयो । विमोचित अभिव्यक्तिमाथि साहित्यकार विधान आचार्यले चर्चा गर्नुभएको थियो ।
नगेन्द्रराज शर्माको ८६औं जन्मोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रममा अर्का अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे, पुरस्कृत व्यक्तित्व पन्त, किशोर पहाडी, देविका तिमिल्सिना, श्रीओम रोदनलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।






