केरा खेतीबाट समृद्ध बन्यो बेनीकाे खबरा

वार्षिक दुई करोड आम्दानी : विदेशबाट फर्किनेलाई गाउँमै रोजगारी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 17 mins

म्याग्दी । कन्थराज थान भीरको पुछार र बेनी–बागलुङ सडक खण्डको सिरानमा छ खबरा गाउँ । पूर्वतर्फ मोहडा परेको चिटिक्कको खबरा गाउँ उर्वर छ । समृद्ध छ । खबराको समृद्धि बैदेशिक रोजगारबाट होइन गाउँमै गरिएको केराखेतीबाट प्राप्त भएको हो ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै बेनी नगरपालिका २ मा पर्ने यो गाउँमा गरिएको केराखेतीबाट यहाँका किसानहरुले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।  प्रायः अन्य अधिकांश उत्पादनको मूल्य निर्धारणमा अन्यको भरपर्ने भएपनि केराखेतीमा भने किसानले नै मूल्य निर्धारण गर्न पाउँछन् ।

प्रायः अन्य अधिकांश उत्पादनको मूल्य निर्धारणमा अन्यको भरपर्ने भएपनि केराखेतीमा भने किसानले नै मूल्य निर्धारण गर्न पाउँछन् ।

खबराका १६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यवसायीक रुपमा गरेको केराखेतीबाट दुईवटा गाउँमा वार्षिक डेढ करोड बढी रकम भित्रिने गरेको छ ।

खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् भने बगरफाँटका किसानले पनि वार्षिक ५० लाख रुपैयाँको हाराहारीमा केरा विक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रुपमा चिनिन थालेका छन् । व्यापारीहरु केरा घरीमा नै आएर केरा खरिद गर्ने गरेका खबराका अगुवा कृषक शोभत शर्मा सापकोटाले बताउनुभयो ।

खबराका किसानले विगत १२ वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन् । बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको विगत १० वर्षदेखि खबरामा केरा खेती गर्दै आउनुभएका अगुवा कृषक सापकोटाको भनाइ छ ।

केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी, पाखा,कान्ला र खोल्साहरु सवैतिर केरा खेतीले छपक्कै ढाकेको स्थानीय वासिन्दा समेत रहनुभएका म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

खबरामा केरी खेतीको सुरुवात २४ वर्ष अघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीयवासिन्दाहरुले बताएका छन् । थापा र कार्कीले सुरु गरेको केरा खेतीले अहिले गाउँनै ढाकेको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

थापा र कार्कीको सिको गरेर खबराका स्थानीयले व्यवसायिक रुपमा केरा खेती थालेका हुन् । अन्य खेती भन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसानहरु केरा खेती तर्फ आकर्षित भएका हुन । खबराका प्रत्येक घरधुरीले व्यवासायिक रुपमा हजारी जातको केराको खेती गरेको र वार्षिक रुपमा एककरोड रुपियाँ भन्दा बढी गाउँमा भित्रिने गरेको अगुवा कृषक कार्कीले बताउनुभयो ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरो खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन् ।

स्थानीय शोभित सापकोटाले विगत १० वर्षदेखि व्यवसायिक रुपमा केरा खेती गरेर गाउँमा नै पक्की घर समेत बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रुपमा १० लाख रुपियाँ भन्दा बढी आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ । परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यवसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको कृषक सापकोटाले बताउनुभयो ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरो खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन । विरुवा रोपेको दुईवर्षमा पसाउन थाल्ने र पसाएको पाँचमहिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ बविता सापकोटाले भन्नुभयो “५ रोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रुपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ ।”

सापकोटाले विगत १० वर्ष देखि केरा खेती गर्दै आउनुभएको छ । छोराछोरी पढाउन र घरखर्ची चलाउन कुनै समस्या छैन उहाँले भन्नुभयो “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाण्डौं राखेर पढाउन पुगेको छ ।” उत्पादन भएको केरा घरबाटै बिक्री हुन्छ सापकोटाले भन्नुभयो “केरा लिन बेनी देखि व्यवसायीहरु घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन एकसय २० रुपियाँमा बिक्री हुन्छ ।”

त्यस्तै खबराकै हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपियाँ जति आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । राम्रो भयो भने केराको एक घारीमा ७ सय देखि ८ सय सम्म कोसा हुन्छन् उहाँले भन्नुभयो “एक घारीको चार हजार दुईसय रुपियाँ सम्म बिक्री गरेको छु ।”

त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् । केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमबहादुर कार्कीले बताउनुभयो । कार्कीले खेतका गह्रामा ५ सय वटा केराका बिरुवा लगाउनुभएको छ । तीन सय केरा घरीले उत्पादन दिन थालेका उहाँले बताउनुभयो ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताउनुभयो ।

ADVERTISEMENT

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताउनुभयो । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब दुई हजार केराका बिरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा रु सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

विदेशबाट फर्केर केराखेतीमा रमाउँदै युवा

यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवाहरु पनि विदेशबाट फर्केर व्यावसायिक केराखेतीमा लागेका छन् ।
स्थानीय युवा रमेशबहादुर कटुवाल लगाएत उहाँका साथीहरुले ब्यवसायिक केरा खेतीबाट आम्दानी गर्दै आउनुभएको हो ।

उहाँहरुले बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा आरम्भ कृषी तथा पशु फार्मबाट सुरु गरिएको ब्यवसायिक केरा खेतीलाई मुख्य पेशासंगै दुईओटा पलास्टिक पोखरीमा तीन हजार माछाका भुरा हालेर माछापालन, भईकटर, तरुल र बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । तीन बर्षदेखि सुरु गरेको केरा फर्मको रेखदेख र गोडमेलमा उहाँका बुबा खिमबहादुर कटुवालले दैनिक रुपमा गर्दै आउनुभएको छ ।

रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका हुन् ।

एक हजार केराका विरुवा लगाएका कटुवालले सिचाईका लागि हालसम्म ब्यक्तिगत ७ लाख लगानी गरेको बताउनुभयो । ब्यवसायीक केरा खेतीमा सिचाईका लागि खरीया खोलाबाट १६ सय मिटर पाईप र बनाखी खोलाबाट ९ सय मिटर पाईपबाट पानी लिएर बाह्मासे रुपमा सिचाई ब्यवस्था मिलाउनुभएको छ । उहाँको फर्ममा ब्यवसायिक रुपमा बाईस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनि लगायतका प्रजातिका केरा खेती गरेका छन् ।
उत्पादन गरेको केरा विक्रिका सदरमुकाम बेनी, पर्यटकियस्थल घोरेपानी, मल्लाज लगायतको क्षेत्रका ब्यवसायिले फर्मबाटै किनेर लजाने गरेको कृषक रमेशबहादुर कटुवालले बताउनुभयो । ३ बर्षदेखि सुरु गरेको केराखेतीबाट आगामी बर्षमा ३ देखि ४ लाख रुपैया आम्दानी गर्ने लक्ष रहेको उहाँको भनाइ छ ।

पुर्खौदेखि केराखेती हुन्छ भन्ने प्रमाणित भएको रिसिनचौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् ।

“अन्न बालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि छिटो हुने भएकाले अनुकूल हावापानी र सडकसंगै बजार सुविधाले ३ बर्षदेखी केरा खेती विस्तारमा मेहन छ,” उहाँले भन्नुभयो । आगामी दिनमा केरा खेतीबाट भएको आम्दानीलाई थप केराखेती विस्तारमा लगानी गर्ने लक्षसहित स्थानीय रुपमा लोक्कल बाख्रा र कुखुरा पालन गर्ने योजना समेत उहाँले बताउनुभएको छ ।

पुर्खौदेखि केराखेती हुन्छ भन्ने प्रमाणित भएको रिसिनचौतारीलाई वडाले केराको पकेट क्षेत्र घोषणा गरेको छ । कटुवालको केरा खेती देखेर स्थानीय अन्य युवाहरुले पनि केरा खेती विस्तारमा लागेका छन् ।

केरा पकेट क्षेत्र

म्याग्दीको बेनी नगरपालिका २ खबरा, बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ ।
नगर तथा गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममार्फत यहाँका ३ सय बढी कृषकले व्यावसायिक रुपमा केरा खेती गरेका छन् ।

कृषक शोभित सापकोटाले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजीक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताउनुभयो । “धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट चार पाँच गुणा बढी आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो “भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौँ ।” यी क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हुदै आएको थियो ।

राखुमा परीक्षणका लागि केही कृषकले धेरै सङ्ख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि खेरा खेती गरिएको छ । यसअघि रघुगङ्गा वडा नं २ र ३ मा केरा खेती गर्ने कृषकका दुई समूह थिए ।

दुईवटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम शुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताउनुभयो । गत आवमा गाउँपालिकाले रु सात लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई कृषकले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।
“एक सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ”, सुवेदीले भन्नुभयो “कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौँ ।” सिँचाइका लागि एक हजार पाँच सय मिटर पाइप खरीद गरेका समूहले पाँच हजार छ सय नयाँ केराका बिरुवा रोपेका छन् ।

ज्यामरुककोटका एक कृषकले एक सय देखि पाँच हजारसम्म केराका बिरुवा रोपेका छन् । कृषकको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि ज्यामरुककोटलाई केरा खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको बेनी नगरपालिका वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

केरा खेतीको पकेट क्षेत्र घोषणासंगै कृषकका लागि सिचाई ब्यवस्था, प्राविधिक तालिम, छिटोछरितो तरिकाले गोडमेल गर्ने मेशिनहरु उपलब्ध गराउन स्थानीय सरकारले ध्यान दिनुपर्ने कृषकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?