बागलुङ । डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो । तर, बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले नै सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमुना सहर मध्यमा पर्छ । सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकिके थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ ।
बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधानहरु सडकमै पार्किङ गर्नु पर्ने स्थितती छ । जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको संगम स्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०/१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बनेका छन् । अझ व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ ।
नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ जग्गा खरिद गरि बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापनमा सहज हुने अपेक्षा लिइएको छ । वि.सं. २०६८ सालदेखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाई गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । वि.सं. २०८० असार १५ गतेसम्म बसपार्क निर्माणको सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्ट्रक्सन एण्ड मरचेन्टाईजर प्रा.लिले पाएको छ । निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ ।
मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरि बसपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । वि.सं. २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरि रहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० वटा जीप, २० वटा बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाई छ । टर्मिनल भवन तीन तलाको बन्ने उहाँले बताउनुभयो ।
बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ रुपैयाँमा बन्न थालेको हो । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यकरणमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले साँघुरो र अव्यवस्थित बसपार्कका कारण सडकका छेउँछाउँ र चोकहरु सबै साना तथा ठूला गाडीले भरिदा आवतजावतमा निकै कठिन हुने गरेको बताउनुभयो । नगरपालिका र नयाँ सहर आयोजनाले तदारुकता देखाएको भए पहिलेनै बसपार्क बनि सक्ने उहाँ बताउनुहुन्छ ।
“बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले गर्दा कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ,” क्षेत्रीले भन्नुभयो– “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको अस्तव्यस्त हुने छैन ।”
नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउने गर्छन् । बजारको व्यवस्थापन कमजोर हुँदा आगन्तुकले समस्या भोग्नु परेको छ । ढोरपाटन नगरपालिका–१ का अध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवनहरु निकै कम भएको भन्दै अहिले खाली ठाउँन भएको बताउनुहुन्छ ।
“बुर्तिबाङ बजारमा सडक आएको धेरै समय भयो, पहिले जनघनत्व पनि कम थियो, सवारी साधानको चाप पनि कमनै थिए, तर अहिले दिनप्रति दिन बढ्दो छ, मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो” अध्यक्ष छन्त्यालले भन्नुभयो– “यहाँका व्यापारी, यात्रु र स्थानीयलाई धेरै समस्या भएको छ, अब धेरै समय समस्या खेप्नु पर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क संचालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।”
लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ति दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाटदेखि हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवल लगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क संचालनमा आएपछि बुर्तिबाङ बजार स्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुने छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता