
काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो । अभियुक्तहरूबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । ३९ जनामध्येका एक रास्वपाका सभापति रवि लामिछाने पनि रहनुभएको छ । उहाँलाई मुख्य अभियुक्त बनाइएको छ । सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ । काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको अनुसन्धान गरेर प्रतिवेदन बिहीबार वकिल कार्यालय बुझाएको थियो ।
सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ ।
यस्तै, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
यस्तै, जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्पचर एण्ड एनिमल हस्वेण्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रा.लि.का सञ्चालक मुखिया कान्छा गुरुङ पनि प्रतिवादी छन् ।
गोर्खा हर्वल प्रोडक्सन प्रा.लि.का सञ्चालक जनक भट्टराई, स्पिङ उड रियलस्टेट प्रा.लि.का सञ्चालक भगवती बम्जन, न्यू सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रा.लि.का सञ्चालक किरण पुडासाईं, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका शेयर सदस्य कृष्णबहादुर पोखरेल प्रतिवादी छन् ।
रवि प्रबन्ध निर्देशक छँदै स्वर्णलक्ष्मीबाट गएको थियो रकम
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले पदमै रहँदा १६ वटा चेकबाट स्वर्णलक्ष्मीलाई ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेको पाइएको छ । गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ बाट जारी भएको चेकमा रवि आफैंले हस्ताक्षर गरेर स्वर्णलक्ष्मीलाई भुक्तानी गरेको प्रमाण प्रहरीले फेला पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रविसहित ३९ जनाविरुद्ध अभियोजन दायर गर्दा उक्त तथ्यलाई प्रमाणका रूपमा समावेश गरिएको छ । २०२१ अप्रिल २३ देखि २०२२ मे ३१ सम्ममा रविले १६ चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ भुक्तानी गरेका हुन् । गोरखा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ००४०१०१००००५७७ मा स्वर्णलक्ष्मीबाट सिधै दुई करोड ६५ लाख रुपैयाँमध्ये दुई करोड ४० लाख रुपैयाँ रवि प्रबन्ध निर्देशक हुँदा जम्मा भएको तथ्यसमेत मिसिलमा पेस गरिएको छ । सन् २०२१ जुलाई १५ मा स्वर्णलक्ष्मीबाट गोरखा मिडियाको ग्लोबल आईएमईको खातामा एक करोड १५ लाख, सोही वर्ष सेप्टेम्बर २९ मा ५० लाख र नोभेम्बर १७ मा ४० लाख रुपैयाँ जम्मा भएको तथ्य अभियोजन पत्रमा उल्लेख गरिएको छ । अभियोजन पत्र अनुसार ग्लोबल आईएमईको खाता नम्बर ००४०१०१००००५७७ बाट सन् २०२० नोभेम्बर १९ देखि २०२२ जुलाई २४ को बीचमा रविको हस्ताक्षरबाट जारी भएको ८२० थान चेकमा ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँ सहकारीका पीडितहरूको रकम रहेको र यसमा रवि जानकार हुँदाहुँदै गोरखा मिडियाको बैंक खातामा रकमान्तर गरेर ठगी गरेको उल्लेख छ ।
रवि र जीबीको संयुक्त ऋण खाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी)ले स्वर्णलक्ष्मी सहकारीमा संयुक्त ऋण खाता नै खोलेर रकम अपचलन गरेको जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गराएको अभियोगपत्रमा उल्लेख गरिएको छ । आइतबार जिल्ला सरकारी वलिक कार्यालयले काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा उनीहरूले दुवैजनाले सहकारीमा ऋण खाता खोलर रकम अपचलन गरेको उल्लेख गरिएको छ । उनीहरूले ००१-००१-११०-०००४३७९ नम्बरको ऋण खाता खोलेर अटो लोन तथा नगदसमेत दिएको देखिएको छ । अटो लोन बराबर ९२ लाख ४६ हजार तथा नगद ८२ लाख ७९ हजार रुपैयाँ लिएको देखिन्छ । त्यसमध्ये अटो लोन केही फिर्ता गरेका थिए । त्यसरी नै ग्यालेक्सी टेलिभिजनको सेयर फिर्ता गर्दासमेत लामिछानेले एक करोड ८० लाख रुपैयाँ नगद लिएर सेयर बिक्री गरेको कागजात फेला परेको थियो । सोही प्रमाणलाई आधार बनाएर रवि लामिछानेको हकमा पाँच करोड आठ लाख ६३ हनार ३३ रुैपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
कीर्ते हस्ताक्षर गरेपछि सहकार्य छाडेको हुँ : जोशी
गोर्खा मिडियाका सञ्चालकसमेत रहेका छविलाल जोशीले जीबी राई र रवि लामिछानेले आफ्नो हस्ताक्षर कीर्ते गरेर कम्पनीको उद्देश्य परिवर्तन गराएको बताएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा दायर गरेको अभियोगपत्रमा जोशीले भनेका छन्, ‘मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७–०७–०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युटलगायतका कागजातमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरूको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरूसँग बसी कम्पनीमा काम गर्नुहुँदैन भन्ने ठानी मैले निजहरूसँग सहकार्य गर्न छाडेको हुँ ।’
जिल्ला अदालत कास्कीमा बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस आइतबार पनि जारी रहृयो । प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । यसअघि सरकारी वकिल र जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको थियो । थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।
सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।
राप्रपा केन्द्रीय सदस्य पुष्पराज पनि प्रतिवादी
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता पनि जोडिएका छन् । राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् । उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच