काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रास्वपा सभापति एवं पूर्व उपप्रधान तथ गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले दिनुभएको जानकारी अनुसार लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
रविसहित गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामाविरुद्ध मुद्दा दर्ता भएको छ । यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुलाई लागेको छ ।
यसैगरी, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।
प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।
त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिल कार्यालयले भने नाम/ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर गरेकाे हो।
सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।






