
पूर्वसम्माननीयहरू पुनः राजनीतिमा फर्किएर सक्रिय हुने भन्ने चर्चा हालका दिनहरूमा राजनीतिक वृत्तमा निकै नै छ । यस्ता चर्चाहरू केही समय पहिलेदेखि नै चल्दै आएका र हाल तिनले अझै बढी व्यापक रूप लिँदै गरेको कारण त्यसमा सत्यता नहोला भन्ने छैन । खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको पार्टी राजनीतिमा फर्कने हल्लाले राजनीति तातेको सुनिन्छ । त्यसमा पनि राजनीतिक जीवनका सशक्त वैशाखी एमाले अध्यक्ष ओलीकैविरुद्ध विद्यादेवीको उपस्थिति हुने हल्ला निकै रोचक छ । पुनः माओवादीका अध्यक्षसँग मिलेर हो कि उहाँका विपक्षमा हो अझै स्पष्ट भएको छैन । उहाँहरू आ-आफ्नो शैलीमा तयारीमै लागिरहनुभएको छ भनिन्छ । राजनीतिभित्र केही आशाका किरणहरू निश्चय पनि छन् भन्ने कुरा निर्विवाद हो । त्यही कारणले मानिसहरू राजनीतिप्रति आकर्षित हुने गरेका छन् । राजनीति गरेर आफ्नो घरखेत सकेका नेताहरू पनि देखिएका छन् तर थोरै संख्यामा । आफ्नो राजनीतिक आस्था त्याग्न पनि नसक्ने राजनीतिक बाटो छोड्न पनि नसक्ने तर त्यस ठाउँमा अर्को आस्थाका मानिसहरूको बाहुल्य भएका ठाउँमा तीसौं वर्ष राजनीतिमा घोटिँदा-घोटिँदा आफ्नो सारा सम्पत्ति सक्नेहरू केही संख्यामा छन् ।
आस्था, निष्ठा र आदर्शको राजनीति गर्नेहरू पनि थिए भन्दा आजको राजनीतिक सन्दर्भमा अपत्यारिलो जस्तो देखिन सक्छ तर त्यो यथार्थ हो । बीपी कोइरालाले गरेको राजनीति, पुष्पलाल श्रेष्ठले गरेको राजनीतिमात्र होइन पछिल्ला दिनहरूमा गणेशमान सिंहले प्रधानमन्त्री पद नस्वीकार्नुभएको पनि देखिएकै हो । कृष्णप्रसाद भट्टराईले आपूmलाई सारा शक्ति, लगाएर हराउँदा पनि कसैलाई दोष नदिई भगवानको कृपा भन्न सक्ने दृढता २०४८ साल पहिलेका पुस्ता सबैलाई थाहा छ । मनमोहन अधिकारी, सुशील कोइरालाहरूले कुन प्रकारको राजनीति गर्नुभएको थियो त्यो भनिरहनु पर्दैन । नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङको जीवनशैली देख्ने केही आदर्श कम्युनिष्टहरूले हामी वास्तवमा कम्युनिष्ट बन्न सकेनौं, वास्तविक कम्युनिष्ट भनेका त व्यवहारमा नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ पो हुन् त भन्ने गरेको सुनिन्थ्यो ।
त्यस कारण राजनीतिक सिद्धान्त होइन व्यवहार ठूलो हो भन्ने तथ्यको पुष्ट्याइँका लागि यस्ता उदाहरण पर्याप्त बन्छन् नै । तर, राजनीतिमा सही ठाउँमा पाइला टेक्ने कार्यबाट च्युत भइयो भने त्यस्तो निष्ठा र आदर्श स्खलित बन्न जान्छ । हालै दिवंगत हुनुभएका नेता दमनाथ ढुंगाना २०४८ सालपछिको संसद्मा सभामुख छँदा उहाँले धेरै स्मरणीय कार्यहरू गर्नुभयो । उहाँको विज्ञता र शालीनतासँग कुनै पनि सभामुखहरूको तुलना हुन सक्दैन । त्यसपछि उहाँ मानवअधिकार र नागरिक जीवन संबद्ध भएर सक्रिय हुनुभयो तर पछि उहाँ निर्वाचनमा भाग लिएर पराजित बन्नुभयो । सम्माननीयहरूबाट पदको आशामा भएको असफलताको यो एउटा दृष्टान्त हो ।
यस्ता अनेकौं दृष्टान्त अरू पनि हुन सक्छन् तर निश्चय पनि के भन्न सकिन्छ भने प्रजातन्त्र पुनप्राप्तिपछिका दुई तीनवटा निर्वाचनसम्म नेपालको राजनीतिमा व्यापारीकरण भएको थिएन, निष्ठा र त्यागको राजनीति भएको थियो । केही अपवादलाई छोडेर त्यागको कदर पनि भएको थियो तर त्यसपछि भने राजनीतिले बाटो बिरायो । आफ्नो मर्यादासमेत नेताहरूले जोगाउन सकेनन् । हाल पुनः राजनीतिमा फर्किन चाहने सम्माननीयहरूको अवस्था पनि पछि गएर धुलिसात नहोला भन्ने छैन । सरकारले दिएको सेवासुविधा खाएर थान्को लागेर बस्ता केही मात्रामा राजनीतिक सम्मान बरू प्राप्त गर्न सक्नुहोला तर राजनीतिक पुनरागमन उहाँहरूका लागि उपलब्धिमूलक बन्न सक्नेमा विश्वस्त बन्न सकिने आधारहरू छैनन् ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवमा त्यसपछिका दिनहरूमा पनि राजनीतिक विचलन देखिएको छैन । तर, दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीमा राष्ट्रपतिको गरिमामय पदमा रहँदा पनि राजनीतिक निष्पक्षता अनुभव गरिएको थिएन । उहाँले तटस्थ भूमिका खेल्न सक्नुभएन र सधैं आफ्नो मातृपार्टी नेकपा एमालेको पृष्ठपोषण गरिरहनुभयो भन्ने सबैले अनुभव गरिरहेको विषय थियो । हाल उहाँ सक्रिय रामजनीतिमा फर्किने सोचमा देखिनुभएको छ । भोलि उहाँले पार्टी अध्यक्ष बन्ने वा कुनै स्थानबाट राजनीतिक कारणले निर्वाचन लड्नु परेकोखण्डमा पराजित हुनुपर्यो भने त्यस बेलाको अवस्था कस्तो होला ? केपी ओलीले पटक-पटक संसद् विघटनको सिफारिश गर्दा सघाउ पुर्याउनु भयो तर शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला शपथ ग्रहण गर्न जाँदा बधाईसमेत राष्ट्रपति भण्डारीले दिने शिष्टता देखाउनु भएको थिएन । उहाँको यस्तो स्वभाव एमालेमा असहमतिको खेलभित्र पनि प्रकट भएमा कस्तो संगठन बन्ला ? त्यो त सम्बन्धितहरूले नै सोच्ने कुरा हो ।
ओलीले पार्टी अध्यक्षका लागि आफ्नो विकल्प खोजी गरेको भन्ने चर्चा त पहिलेदेखिकै हो तर ओलीको विकल्प उहाँ हुन सक्नुहोला वा नहोला त्यो भने फरक सन्दर्भ हो, जुन परिणाम त्यही बेलामात्र देखिनेछ । राजनीतिमा अरूलाई विश्वास नगर्ने र आफ्नै निकटको मानिसलाई अगाडि सार्ने प्रवृत्तिको यो एउटा उदाहरण हो । भीम रावलहरू गलहत्तिरहने र पूर्वराष्ट्रपति बनिसकेकी विद्या भण्डारी नेकपा एमालेको अध्यक्षमा फर्किने राजनीतिक निर्णयले भोलिका दिनमा एमालेलाई अझै सशक्त बनाउने हो वा कमजोरी बनाउँदै लाने हो त्यो हालका अध्यक्षका आकांक्षीहरूले उहाँलाई गर्ने सहयोग वा विरोधमा भरपर्छ ।
माओवादीको कोटाबाट उपराष्ट्रपति बन्नुभएको नन्दबहादुर पुनको राजनीतिक समदृश्यता पनि यही हो । उहाँमा त विद्या भण्डारीको जत्ति राजनीतिक उचाइ पनि छैन र माओवादीबाट तत्कालीन अवस्थामा लडाइँमा संलग्न हुने लडाकुहरूको कमाण्डरका रूपमा उहाँले जिम्मेवारी लिनुभएको छ । अर्कातिर व्यापक रूपमा चर्चामा रहेका केही चर्चित प्रकरणमा समेत उहाँको पारिवारका सदस्यहरू जोडिन आउनुभएका कारण त्यस्ता दागहरूलाई मेटाउँदै आफ्नो राजनीतिक बाटो तय गर्न सजिलो छैन । अब जनता पनि सचेत बन्दै गएका छन् । माओवादीको मायावी आकर्षण अब समाप्त भइसकेको छ । त्यस कारण भोलिका दिनमा नेपालको राजनीतिमा सफेद छवि कायम गरेर अगाडि बढ्न उहाँहरूका लागि त्यति सहज छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच