काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित डा. भीम रावलको पत्रकार सम्मेलन प्रतिक्षित थियो । एमालेबाट निष्कासनपछि नयाँ भावी योजना सार्वजनिक गर्ने ठानिएको बुधबारको सम्मेलनमा रावलले दुई घण्टा ‘ननस्टप’ लिखित बक्तव्य वाचन गर्नुभयो । नयाँ पार्टीसमेत घोषणा गर्ने अपेक्षाबीच रावलले ३२ पृष्ठ लामो बक्तव्य पढ्न दुई घण्टा समय खर्चिनुभयो । तर, रावलका समर्थक र आम मान्छेले अपेक्षाअनुसार न त नयाँ पार्टी घोषणा भयो न ठूलै कुनै योजना आयो । आयो त केवल प्रश्नहरूको फेहरिस्त र एक थान ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्ने’ घोषणा ।
एमालेले यसअघि पटक-पटक स्पष्टीकरण सोध्दा कुनै जवाफ नदिनुभएका रावलले पत्रकार सम्मेलनबाटै जवाफ दिनुभयो । जवाफभन्दा बढी उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दर्जनौँ प्रश्न गर्नुभयो । ओलीले फरक मतलाई सम्बोधन नगरेको, पार्टीलाई विधिसम्मत सञ्चालन नगरेको, पार्टीमा विभाजनको बिउ रोपेको, पार्टीको निर्णयलाई चुनौती दिने काम गरेको भन्दै प्रश्नमाथि प्रश्न गर्नुभयो । कविताबाट पत्रकार सम्मेलन सुरु गर्नुभएका उहाँले त्यसपछिको अधिकांश समय ओलीकै आलोचनामा खर्चिनुभयो । ओलीलाई विभिन्न समयमा राष्ट्र हितविपरीत गरेका निर्णय, गुठी आन्दोलन, राजनीतिलाई अस्थिर तुल्याउने गतिविधि, सरकारमा रहँदा आफूले गरेका प्रतिबद्धता पूरा नगरेको, संक्रमणकालीन न्यायसम्बन्धी काम, दु्रतमार्ग, ६ लेनको राजमार्ग, विद्युतीय रेल, चक्रपथ रेल, मेट्रो, मनोरेल, प्रतिव्यक्ति आय, असमान सन्धि सम्झौताबारे के गर्नुभयो ? भनेर प्रश्न गर्नुभयो । घरघरमा खाना पकाउने ग्यास पाइप, पानीजहाज, अन्तरिक्षमा आफ्नै यान र नेकपा विवादबारे पनि रावलले प्रश्न उठाउनुभयो । रावलले ओलीको असहिष्णु व्यवहार र व्यक्तिवादी चरित्रको ‘भण्डाफोर’ गर्नुभयो ।
एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवन समाप्त पार्न खोजेको गुनासो गर्नुभयो । भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने बताउँदै रावलले भन्नुभयो, ‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भन्नुभयो, ‘तपाईं केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा किन गरेको ?’ उहाँले ओली नसच्चिए २०८४ सम्म पार्टी कुन हालतमा पुग्छ ? भन्ने अहिले नै अनुमान गर्न सकिने जिकिर गर्नुभयो ।
मातृभूमि जागरण अभियान घोषणा
भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । अभियान सञ्चालन गरेर त्यसैलाई पछि राजनीतिक पार्टीको रूपमा विकास गर्ने घोषणा गर्नुभयो । मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने उहाँले बताउनुभयो । अभियानका क्रममा भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई जागरूक बनाइने उहाँको भनाइ थियो । देशलाई सुशासनको बाटोमा अगाडि बढाउन वैकल्पिक शक्ति निर्माणको आवश्यकता भएको उहाँले बताउनुभयो । ‘राज्य र राजनीतिलाई देशको सेवामा समर्पित गर्नुपर्छ । देश सबैभन्दा माथि हुन्छ । राजनीति र राजनीतिका अवयव यसैका लागि हुन् । यसैले सुशासनको बाटोमा निःस्वार्थका साथ अगाडि बढ्नुपर्छ । यसैको लागि समग्र विचार, नीति, कार्यक्रम ल्याउँछौँ, रावलले भन्नुभयो, ‘देशभक्तियुक्त सरकार र जनमतको आवश्यकता छ । यसका लागि राष्ट्रव्यापी अभियान चलाउनुपर्छ । राजनीति, देश, जनताको हितको लागि मातृभूमि जागरण अभियान सञ्चालन गरेर अगाडि बढ्छौँ । यसका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य भएको छ ।’ तर, अभियान कहिलेदेखि चलाउने भनेर रावलले खुलाउनु भएन । समय आएपछि अभियान चल्दै जाने उहाँको भनाइ थियो । रावलले वैकल्पिक राजनीतिको लागि स्वतन्त्र दल, अगुवासँग पनि सहकार्य हुनसक्ने बताउनुभयो ।
भीम रावलले देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको बताउनुभयो । राजनीतिक परिवर्तनपछि जनताको अपेक्षाअनुसार राज्य र दलहरू अग्रसर नभएको भन्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको निष्कर्ष निकाल्नुभएको हो । ‘राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमानसमेत चुनौतीग्रस्त बनेको छ । यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिबद्ध हुनुपथ्र्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपथ्र्यो,’ उहाँले भन्नुभयो, ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनसमेत अवमूल्यन गरी केपी ओली गुटले एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा घर्केलिएको छ ।’
राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो । ‘राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण जनभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमानदार शक्ति, व्यक्ति र समदायलाई एकताबद्ध गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ ।’ विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निःस्वार्थ रूपमा दृढताका साथ हिँड्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वाधीनता, नागरिकको जनजीविका र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउने बताउनुभयो । नेपाल र नेपालीको राम्रो भविष्य अगाडि बढाउन कटिबद्ध रहेको भन्दै साथ दिन रावलले आहृवान गर्नुभयो । रावलले सबै दलका इमानदार नेता, सदस्य, निर्वाचित प्रतिनिधि, श्रमिक, जनता, प्रबुद्ध अगुवा व्यक्तिमा आह्वान गर्दै साथ दिन अपिल गर्नुभयो । तर, पौने दुई घण्टाभन्दा बढी बोलिसक्दा पनि भावी योजना, बाटोबारे के गर्ने भनेर प्रष्ट कार्ययोजना ल्याउनुभएन ।
केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाइयो
नेता भीम रावलले एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको आरोप लगाउनुभयो । पार्टीको महाधिवेशनका क्रममा चितवनमा आफूमाथि भएको कार्यको स्मरण गर्दै बुधबारको पत्रकार सम्मेलनमा उहाँले पार्टीकै केटाहरूलाई लगाएर आफू बसेको होटलमा नाराबाजी गर्न लगाइएको समेत बताउनुभयो । ‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो,’ उहाँले भन्नुभयो । ओलीले महाधिवेशनको बेला चितवनमा वरीयतामा तल भएका चार जनालाई विशेष होटलमा बस्ने व्यवस्था गरे पनि आफूलाई सामान्य एउटा कोठा मात्रै उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘महाधिवेशनमा एकलौटी थियो । मलाई सहयोग मात्रै होइन महाधिवेशनको बैठकमा समेत सकभर छिर्न नदिनु भनेर स्वयम् सेवकलाई निर्देशन दिइयो । जबजको धज्जी उठाउने कुकर्म थियो,’ उहाँले भन्नुभयो । रावलले एमाले अध्यक्ष ओली आफैँले प्रतिगामी भनेकाहरू सँगको साँठगाँठमा रहेको आरोप लगाउनुभयो । ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरूलाई निरंकुश शैलीमा हटाउन थालेको रावलले आरोप लगाउनुभयो । ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ,’ उहाँले भन्नुभयो ।
सात नेतालाई धन्यवाद
नेता भीम रावलले एमाले अध्यक्ष ओलीले कारबाहीको प्रस्ताव गर्दा सातजना नेताले विरोध गरेको बताउनुभयो । कारबाहीको विरोधमा सचिवालय बैठकमा आफ्नो मत राख्ने नेताहरूलाई उहाँले धन्यवाद दिनुभयो । ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनी अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने सातजना नेतालाई धन्यवाद,’ उहाँले भन्नुभयो । रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरू अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई लगायतले विरोध गर्नुभएको थियो ।
न्यायालयदेखि राज्य सत्तासम्म दुरुपयोग गरेको आरोप
भीम रावलले केपी ओलीलाई प्रश्न गर्दा अर्थमन्त्री विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । ओलीकै निर्देशनमा अख्तियारले उनीहरूमाथि मुद्दा नचलाएको रावलको आरोप छ । ‘ललिता निवासको जग्गा अवैध रूपमा लिएका पार्टीका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले फिर्ता गर्छु भनेको भन्दै अख्तियारले मुद्दा नचलाएको तपाईं (केपी शर्मा ओली)कै निर्देशनमा भएको होइन र ?,’ रावलले भन्नुभयो, ‘कसैले चोरेको सामान फिर्ता गर्छु भन्दैमा चोरीमा कारबाही नहुने कानुन छ र ?’ ओलीले न्यायालयदेखि राज्य सत्ताका सबै कुराको दुरुपयोग गरेको आरोप रावलले लगाउनुभयो ।
मिसन ०८४ मा जनताले जवाफ दिन्छन्
भीम रावलले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिनुभएको छ । ओली पार्टीलाई सत्ता स्वार्थमा मात्रै निहित बनाएको उहाँको दाबी थियो । आफूलाई स्पष्टीकरण सोध्नु निधेषको राजनीति भएको रावलको भनाइ थियो । रावलले आफूले ओलीसँग गरेको वार्ताबारे भ्रम सिर्जना गरिएको दाबी गर्नुभयो । वार्तालाई भ्रम सिर्जना गर्ने वातावरण किन बनाइयो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ओलीलाई फोन गर्दासमेत नउठाएको उहाँले दाबी गर्नुभयो । अधिकांश पदाधिकारीलाई फोन गरेर वार्ता प्रयास गर्दासमेत ओलीको दम्भको कारण चासो नदिएको रावलले आरोप लगाउनुभयो । आफूले उठाएका प्रश्नको जवाफ दिन नसके आगामी निर्वाचनमा एमाले ‘पतन’ हुने रावलले दाबी गर्नुभयो । ‘देश र जनताको हितका लागि उठाइएका विविध प्रश्नहरूको तपाईंले जवाफ दिनैपर्छ । अन्यथा तपाईंले भन्दै आउनुभएको ‘मिसन ०८४, मिसन पतन’ सावित हुनेछ,’ रावलले भन्नुभयो । रावलले ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’ रावलको प्रश्न थियो । वर्तमान सरकारले भ्रष्टाचार काण्डमा ठूला भनिएकालाई जोगाउने काम गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो । ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भन्नुभयो, ‘भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता