काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक हुने बताउनुभएको छ । लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९.९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष कार्कीले १० वर्षभित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डीलगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चा पदार्थ र रोजगारीमा ४० खर्ब खर्च भई नेपालकै अर्थतन्त्र माथि उठ्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा चार सय मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत् व्यापारको शृंखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा १० हजार मेगावाट निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता भएको र पछिल्लोपटक बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको उल्लेख गर्दै उहाँले केही दिनअघिमात्रै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार पाँच सय मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखाएको बताउनुभयो ।
ऊर्जा क्षेत्रको विकासका लागि सबै पक्ष सकारात्मक भएको बेला पनि यस क्षेत्रमा रहेका समस्या समाधान नगरिए कहिल्यै पनि यस क्षेत्रको विकास नहुने उहाँको भनाइ थियो । लामो समयदेखि ४१ जलविद्युत् आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा रोकिएको भन्दै कार्कीले बैंकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने बताउनुभयो ।
नेपालमा भएका चार–पाँचवटा राम्रा जलविद्युत् आयोजनामध्ये दानाखोला पनि एक रहेको भन्दै उहाँले समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । प्रवद्र्धक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रूपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकाले आयोजना समयमै सम्पन्न गरिने बताउनुभयो ।
कम्पनीका अनुसार आयोजनाका लागि नौ अर्ब ९६ करोड रुपैयाँ लगानी सुनिश्चित भएको छ । ७४ करोड स्थानीयमा सेयर जारी गरेर, एक अर्ब ७४ करोड सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुनेछ । सो आयोजना मनाङको नासो गाउँपालिकामा विकास गरिनेछ । दानाखोलाका लागि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा